दशैंमा लाभांश नपाउने भएपछि सेयरधनी निराश, बैंकर भन्छन् : खसी/बोका काट्नु भन्दा बचत गर्नु बेस

<p>काठमाडौं । यस वर्ष दशैं ढिलो परेपनि अधिकांश बैंकहरुले सेयरधनीको हात खाली पार्ने भएका छन् । विगतका वर्षहरुमा असोजमै पर्ने दशैंमा सेयरधनीलाई लाभांश दिने प्रयत्न गर्ने बैंकहरुले यस वर्ष कात्तिकमै परेपनि लाभांश दिन सक्ने सम्भावना न्युन देखिएको हो । सूचीकृत कम्पनीका लगानीकर्ताले दशैंमा लाभांश रकमबाट खर्च गर्ने सोच बनाएका हुन्छन् । तर, दशैं अगावै लाभांश घोषणा नगर्दा [&hellip;]</p>

काठमाडौं । यस वर्ष दशैं ढिलो परेपनि अधिकांश बैंकहरुले सेयरधनीको हात खाली पार्ने भएका छन् । विगतका वर्षहरुमा असोजमै पर्ने दशैंमा सेयरधनीलाई लाभांश दिने प्रयत्न गर्ने बैंकहरुले यस वर्ष कात्तिकमै परेपनि लाभांश दिन सक्ने सम्भावना न्युन देखिएको हो ।

सूचीकृत कम्पनीका लगानीकर्ताले दशैंमा लाभांश रकमबाट खर्च गर्ने सोच बनाएका हुन्छन् । तर, दशैं अगावै लाभांश घोषणा नगर्दा निराश हुनु परेको लगानीकर्ताले गुनासो गरेका छन् । विगतका वर्षहरुमा बैंकहरुले दशैं अघि नै साधारणसभा गरेर लाभांश नै वितरण गर्ने गरेका थिए । यसपटक दशैं कात्तिकमा परेकाले दशैं अगावै खर्च आउने अपेक्षामा लगानीकर्ता थिए । तर, यस वर्ष पनि लगानीकर्ताको त्यो अपेक्षामात्रै सीमित हुने देखिएको हो ।

लगानीकर्ताको इच्छा दशैं अघि नै राम्रो प्रतिफल लिएर धुमधामका साथ दशैं मनाउने हुन्छ । दशैं तिहारमा पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरुसँग रमाइलो गर्ने अभ्यास नेपालमा व्याप्त छ । धेरैले चाडपर्वकै समय पारेर नयाँ-नयाँ गाडी तथा सामान खरिद गर्छन् ।

लगानीकर्ता माधव खनालले यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो हुने हुँदा दुःख व्यक्त गरे । लगानीकर्तालाई दशैं खर्च दिन भएपनि कम्पनीहरुले छिटो साधारणसभा गर्नु पर्ने उनको भनाइ छ ।

‘यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो हुने भयो, विगतमा केही कम्पनीले दशैंमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि वितरण गर्न छाडे, अब दशैं/तिहारमा लगानीकर्ताको हात रित्तो हुने भयो,’ उनले भने, ‘एउटा नैतिकता हुनुपर्ने हो, नेपालीहरुको महान चाँड दशैं/तिहार हो, सबैलाई पैसा चाहिन्छ, आर्थिक वर्ष क्लोज भएको धेरै महिना भइसक्यो, नैतिकता बोध छैन, यसमा नेप्से, सेबोन, राष्ट्र बैंक र बीमा समितिले कडाइ गर्नु पर्छ ।’

लगानीकर्ता राजन लम्सालले भने केही फरक मत राखे । उनले कम्पनीहरुको अडिटका कारण ढिलो हुने गरेकाले दशैं अघि नै लाभांशको अपेक्षा गर्न नहुने धारणा राखे । दशैंअघि नै साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिन नसकेको भन्दै दोष दिनु गलत रहेको उनको बुझाइ छ ।

‘सबै कम्पनीले असोजमा साधारणसभा सम्पन्न गर्न सक्दैनन्, कम्पनीका धेरै शाखा कार्यालय हुन्छन्, ब्यालेन्ससिट पनि हचुवाको भरमा सार्वजनिक गर्नु हुँदैन, दशैंअघि भए असाध्यै राम्रो कुरा हो,’ उनले थपे, ‘सामान्यतया २१ दिने सूचना निकाल्नुपर्छ, धेरै शाखा नभएका कम्पनीले छिटो लाभांश वितरण गर्नु पर्छ ।’

यस्तै, कृषि विकास बैंकका नायब महाप्रबन्धक यज्ञ प्रसाद न्यौपानेले यसपालिको दशैंमा सेयरधनीलाई लाभांश वितरण गर्न सम्भव नरहेको तर्क गरे । उनले अब केही समय बाँकी रहेकाले दशैंपछि मात्रै लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्ने धारणा राखे ।

‘लाभांश वितरणका लागि ठूलो प्रक्रिया पुर्याउनु पर्छ, बैंकको सञ्चालक समितिले लाभांश घोषणादेखि राष्ट्र बैंकले स्वीकृत गर्दासम्म धेरै लामो समय लाग्छ, त्यसपछि साधारणसभा बोलाउनु पर्ने हुन्छ, त्यसकारण दशैं अघि सेयरधनीले लाभांश पाउने अवस्था देखिँदैन,’ उनले भने ।

उनका अनुसार कृषि विकास बैंकको लेखापरीक्षण काम भइरहेको छ । तर, विगतका वर्षभन्दा कृषि विकास बैंकका सेयरधनीहरुले छिटो लाभांश पाउने उनको भनाइ छ ।

‘अहिलेसम्म ५ वटा बैंकले लाभांश प्रस्ताव गरेका छन्, दशैं अगाडि यी बैंकका सेयरधनीले मात्रै लाभांश पाउने हुन् तर, अन्य कम्पनीले दिन सक्ने अवस्था अब छैन, तुरुन्तै घोषणा गरेर राष्ट्र बैंकबाट स्वीकृत पाउन पनि समय लाग्छ,’ उनले भने, ‘कृषि विकास बैंकले विगतको वर्षभन्दा छिटो घोषणा गर्ने तयारीमा छ, आगामी वर्षमा दशैं अगाडि नै लाभांश दिने प्रयत्न गर्नेछौं ।’

एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)ले नियम अनुसार लाभांश वितरण प्रक्रिया अघि बढ्ने बताए । यसवर्ष अन्य बैंकहरुले दशैंमा लाभांश दिन सक्ने सम्भावना नभएको बैंकरहरु बताउँछन् । दशैं ढिलो परेको भएपनि अहिले पनि बैंकिङ प्रणालीमै तरलताको समस्या कायमै रहेका कारण बैंकहरुले दशैं अघि नै लाभांश दिने अवस्थामा नरहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको बचतको ब्याजदर उच्च भएकाले खर्चभन्दा पनि बचत गर्न आग्रह गरे ।

‘म दशैंमा खर्च गर्नु हुँदैन भन्छु, बैंकहरुमा पैसा छैन, दशैं तिहार भनेर पहिला जस्तो खसी बोकामा खर्च गर्नु हुँदैन, अहिले त भएको पैसा पनि बचत गर्नुहोस् भन्छु, बैंकमा अहिले ११ प्रतिशतभन्दा बढी ब्याज दिने भएकाले खर्चभन्दा पनि बचत गर्नुपर्छ, ब्याजदर ६/७ प्रतिशत हुँदा खर्च गर्ने हो, ११ प्रतिशत हुँदा त ब्याज पाउँदा बचत गर्ने हो, यस वर्षको दशैंमा कुनै पनि बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था छैन,’ उनले विकासन्युजसँग भने ।

उनले दशैं अघि लाभांशको अपेक्षा राख्ने लगानीकर्तालाई म्युचुअल फण्डमा लगानी गर्न सुझाए । ‘लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरे दशैंअघि नै लाभाशं पाउन सक्छन्, त्यसैमा लगानी गर्दा हुन्छ, दशैं अघि लाभांश खान चाहेमा म्युचुअल फण्डमा लगानी गर्दा हुन्छ,’ उनले भने ।

हालसम्म पाँच वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् भने साधारणसभा पनि बोलाइसकेका छन् । माछापुच्छ्र्रे, एभरेष्ट, सानिमा, सिटिजन्स र एनआइसी एशिया बैंकले लाभांश प्रस्ताव गरिसकेका छन् । यी बैंकले सेयरधनीलाई दशैं अगाडि नै सेयरधनीलाई लाभांश वितरण गर्नेछन् । अन्य बैंकको लाभांश दिन सक्ने सम्भावना भने न्यून छ ।

Share News