काठमाडौं । कर्णाली प्रदेशमा वैदेशिक लगानीमा सञ्चालित उद्योग तथा सेवा क्षेत्र शून्य जस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९ मा कर्णाली प्रदेशमा ०.०२ प्रतिशत मात्रै वैदेशिक लगानी रहेको छ ।
नेपालमा ५७ देशको कूल २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । कूल वैदेशिक लगानीको कर्णाली प्रदेशमा भने ०.०२ प्रतिशत अर्थात् ४ करोड ७८ लाख रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ ।
तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी विदेशी लगानी रहेको छ । बागमती प्रदेशमा ५५ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, कोशी प्रदेशमा १७ प्रतिशत अर्थात् ४५ अर्ब ५ करोड रुपैयाँ, गण्डकी प्रदेशमा १६.८ प्रतिशत अर्थात् ४४ अर्ब ४३ करोड रुपैयाँ र मधेश प्रदेशमा ८.८ प्रतिशत अर्थात् २३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ०.९ प्रतिशत अर्थात् २ अर्ब ३२ करोड रुपैयाँ र लुम्बिनी प्रदेशमा १ प्रतिशत अर्थात् २ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
