काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज १० गते बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर आइतबार (असोज १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । नियमअनुसार बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुनु पर्ने हो । तर बिहीबार अर्थात असोज ११ गते इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएसँगै सेयर बजार बन्द हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १७२.४३ रुपैयाँ र अधिकतम ५१७.२९ रुपैयाँ तोकेको छ । कम्पनीको सेयर कारोबारको लागि सिम्बोल ‘सीएलआई’ दिइएको छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।