काठमाडौं । सप्तकोशी सिमेन्टले एक वर्षमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । मोरङको विराटनगरस्थित कटारीमा रहेको यस कम्पनीले सन् २०२३मा सो रकम बराबरको व्यापार गरेको हो ।
जुन सन् २०२२ को तुलनामा ३१.२१ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले एक अर्ब ७९ करोड १० लाख रुपैयाँ मात्रै व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीले २ अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । उक्त तथ्यांकअनुसार कम्पनीको व्यापारमा तलमाथि भइरहेको देखिन्छ ।
व्यापार बढाएको कम्पनीको मार्जिन भने निरन्तर घटेर ४.०८ प्रतिशतमा झरेको छ । जुन सन् २०२१मा ७.७९ प्रतिशत र २०२२ मा ६.६८ प्रतिशत थियो ।
कम्पनी सन् १९९६ अप्रिलमा स्थापित भइ सञ्चालनमा आएको हो । शुरुवाती चरणमा नेशनल सिमेन्ट प्राइभेट लिमिटेडको नामबाट कारोबार शुरु गरेको कम्पनीको नाम बीचमा परिवर्तन गरी सप्तकोशी सिमेन्ट प्राइभेट लिमिटेड राखिएको हो । उक्त नाम गत तीन वर्ष मात्रै परिवर्तन गरिएको हो ।
कम्पनीले प्रतिदिन ६०० टन क्षमताको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गर्दै आएको प्लान्टमा दुई इकाइहरु छन् । डिसेम्बर २०१८ देखि पहिलो इकाइमा एक सय र दोश्रोमा ५०० गरी कूल ६०० टन सिमेन्ट उत्पादन हुन थालेका छन् ।
कम्पनीले व्यापार विस्तारका लागि ऋण सुविधा लिने भएको छ । कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ बराबरको ऋण सुविधा लिन केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । जसअन्तर्गत कम्पनीले दीर्घकालिन कर्जा सुविधा (९१ करोड ५ लाख) का लागि डबल बी र अल्पकालिन कर्जा सुविधा (२० करोड ९४ लाख) का लागि ए फोर रेटिङ पाएको छ । उक्त ऋण सुविधाले कम्पनीको नाफा मार्जिनमा सुधार गर्न, सञ्चालनको स्केल र कम्पनीको क्षमता बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सिमेन्ट उत्पादनमा २२ वर्षभन्दा बढीको अपरेशनल ट्रयाक रेकर्ड रहेको यस कम्पनीमा एचआर गोयल ग्रुपको मूख्य लगानी छ । उक्त ग्रुपसँग नेपाली सिमेन्ट उद्योगमा २४ वर्षभन्दा बढीको अनुभव छ । गोयल ग्रुपका अध्यक्ष आशिष गोयल पनि विगत १२ वर्षदेखि यो क्षेत्रमा आवद्ध छन् ।