काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म चुक्ता पूँजी १ अर्ब ६० करोडको ७५ प्रतिशत अर्थात् १ः०.७५ सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्याे । कम्पनीले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
तर, कम्पनीले बिक्री गरेको हकप्रद सेयरमा लगानीकर्ताले पूर्ण आवेदन दिएनन् । लगानीकर्ताले पूर्ण आवेदन नदिएपछि कम्पनीले गत साउन २२ गतेदेखि १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत् बिक्रीमा राखेको थियो ।
यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गर्याे । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । तर, कम्पनीको सो हकप्रद सेयरमा पनि लगानीकर्ताले पूर्ण आवेदन दिएनन् । त्यसपछि कम्पनीले गत भदौ १३ गतेदेखि १३ लाख ३६ हजार ७४२.७१ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्यो ।
अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयरमा पूर्ण आवेदन नपरेपछि आवेदन दिने समय थप गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता सेयर बिक्री गरेको थियो । तर, सो अवधिमा पूर्ण आवेदन नपरेपछि कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिने समय थप गरेको हो । कम्पनीले हाल १ कित्ता सेयर भएका सेयरधनीहरुलाई नयाँ १ कित्ता सेयर पाउने गरी हकप्रद सेयर जारी गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार २ लाख २४ हजार ७५५ जना आवेदकले २ करोड ४९ लाख ४३ हजार २६५ कित्ता सेयरका लागि मात्रै आवेदन परेको छ । सो आधारमा कम्पनीको हकप्रद सेयरमा अन्तिम दिनसम्म पूर्ण आवेदन पर्ने कठिन देखिन्छ ।
अपि पावर कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गर्याे । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
कम्पनीको हकप्रद सेयरमा अन्तिम दिनसम्म १ लाख ७ हजार ९७८ जना आवेदकले १ करोड १८ लाख २१ हजार ३६६ कित्ता सेयरका लागि आवेदन दिएका थिए । जबकी कम्पनीले पनि बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्नु पर्ने देखिन्छ । सिडिएस एण्ड क्लिरिङ्गको तथ्याङ्क अनुसार कम्पनीले ४७ लाख कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गर्नु पर्ने देखिन्छ ।
मल्टीपर्पस फाइनान्सले आज भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री खुला गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ४ हजार ६६ जना आवेदकले ५ लाख ३६ हजार ४६३ कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको १० लाख कित्ता सेयर बिक्री हुन बाँकी छ । त्यसैले उक्त सेयर लिलाम बढाबढका माध्यमबाट बिक्री गर्नु पर्नेछ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सबै लगानीकर्ता हकप्रद सेयर भर्न इच्छुक नहुने भएकाले कुनै पनि कम्पनीको हकप्रद सेयरमा पूर्ण रुपमा बिक्री हुँदैन । सेयर बजार घटेको र लगानीकर्ताको मनोबल कमजोर बनेका कारण हकप्रद सेयरमा पूर्ण आवेदन नपरेको हुन सक्ने क्यापिटलको भनाइ छ ।
त्यस्तै, अरुण काबेली पावर कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ७७ हजार ७०२ जना आवेदकले १ करोड ३४ लाख ८८ हजार कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको ५० लाख कित्ता सेयर बिक्री हुन बाँकी छ । त्यसैले उक्त सेयर लिलाम बढाबढका माध्यमबाट बिक्री गर्नु पर्नेछ ।
सिनर्जी पावर डेभलपमेन्टले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद बिक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ४४ हजार २ सय जना आवेदकले २८ लाख ३३ हजार ९०२ कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको १२ लाख कित्ता सेयर बिक्री हुन बाँकी छ ।
हालै हकप्रद सेयर बिक्री गरेका यी कम्पनीमा पूर्ण आवेदन परेन । पछिल्लो समय सेयर बजार ओरालो लागेकाले लगानीकर्ताको मनोबल पनि खस्किएको हुँदा हकप्रद सेयरमा आवेदन नदिएको हुन सक्ने लगानीकर्ता राधा पोखरेल बताउँछिन् । हकप्रद सेयर भन्दा सस्तो मूल्य भएका कम्पनीको सेयर पुँजी बजारमा उपलब्ध भएकाले लगानीकर्ताले चासो नदिएको हुन सक्ने उनको भनाइ छ ।
‘सेयर बजार राम्रो भएको बेलामा हकप्रद सेयर जारी गरेपछि त्यसको महत्व हुन्छ, अहिले हकप्रद सेयरभन्दा सस्ता कम्पनी सेयर बजारमा फालाफाल छन्, ती कम्पनीको सेयर छानीछानी किन्न पाइन्छ,’ उनले भनिन्, ‘लगानीकर्ताहरुसँग हकप्रद सेयर खरिद गर्ने रकम पनि नभएको हुन सक्छ, भएको रकम सेयर बजारमा डुबिसकेको छ, बैंकबाट कर्जा लिएर हकप्रद सेयर भरौं भन्दा बैंकले ऋण नै दिँदैन ।’
बैंकले सेयर खरिद गर्न ऋण नदिएका कारण पनि हकप्रद सेयर बिक्री हुन छाडेको उनको भनाइ छ । बजार घटेका कारण पनि लगानीकर्ताले आवेदन नदिएको उनले बताइन् ।
‘म आफैंले पनि हकप्रद सेयर किन्न छाडिसकें, बजार घट्दै गएपछि लगानीकर्तामा उत्साह छैन, सेयर खरिद गर्ने बित्तिकै बजार घट्न थाल्छ,’ उनले भनिन्, ‘यस्तो संकटमा लगानी डुब्न थालेपछि किन्न किन्ने ? दशैं नजिक आइसकेको छ, तीज पनि लगत्तै सकियो, त्यसैले पनि हकप्रद सेयर नकिनेको हो ।’
लगानीकर्ता राजु पौडेल हकप्रद सेयर मात्रै बिक्री गर्न दिएर सप्लाइ भर्ने काम मात्रै भएको बताउँछन् । साथै, अहिले हकप्रद सेयर जारी गरेका कम्पनीले सर्वसाधारणबाट रकम संकलन गरेर बैंकको ऋण तिर्ने गरेको उनको भनाइ छ ।
‘पछिल्लो समय बैंकको ऋण तिर्नका लागि धमाधम हकप्रद सेयर निष्काशन गर्न दिएको छ, अपर तामाकोशीको हकप्रद सेयर आउने भनेर सेयर मूल्य १ हजार रुपैयाँ पुर्याइयो, अब हकप्रद निष्काशनपछि कम्पनीको सेयर मूल्य १ सय रुपैयाँभन्दा तल झर्ने देखिन्छ,’ उनले भने, ‘धितोपत्र बोर्डले सप्लाइ मात्रै दिइरहेको छ तर, डिमाण्ड सिर्जना गर्न सकिरहेको छैन, यदि यो सप्लाइलाई खरिद गर्ने हो भने नियामकले गरेका कडाइ हटाउनु पर्छ ।’