काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिले ब्याज बढाउने काम मात्रै गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मौद्रिक नीतिले गर्दा ब्याज बढिरहेको छ, र कालोसुचीको संख्या पनि मौद्रिक नीतिकै कारणले बढेको हो,’ उनले भने ।
उनले कर भुतप्रवाही हुनु नहुने बताएका छन् ।
‘मर्जर भएका कम्पनी र एफपीओमा कर लाग्ने विषयले निजी क्षेत्रले समस्या भएको छ, कर कानुनको अस्पष्टता नै अहिलेको मुख्य समस्या हो, यसले गर्दा नै अर्थतन्त्रमा समस्या देखिएको हो,’ उनले बताए ।
सरकारले सेयर बजारलाई अहिलेसम्म मान्यता नदिएको गुनासो गर्दै लगानीकर्ता पौडेलले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमा तत्काल हटाउनु पर्ने बताएका छन् ।
राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिले समस्या देखिएको बताउँदै उनले राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति गर्न बाहेकको काम गर्न नसकेको बताएका छन् ।
साथै, राष्ट्र बैंकले हालको नीतिलाई हेरफेर नगरेमा आगामी दिनमा थप समस्या आउन सक्ने र आगामी दिन थप चुनौतीपूर्ण हुन सक्ने उनको भनाई छ ।
‘विदेशीने विद्यार्थीको संख्या बढिरहेको छ, सीएहरुको डरलाग्दो पलायनले पनि समस्या आउन सक्छ,’ उनले भने ।