काठमाडौं । दशैं नजिकिएसँगै हवाई भाडा पनि बढेको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्थाले आज (मंगलबार) देखि हवाई भाडा बढेको हो । मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ ।
हाल अन्तर्राष्ट्रिय उडानको भाडा एक लाख रुपैयाँ छ भने अब १ लाख १३ हजार रुपैयाँ लाग्ने भएको छ । आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि १३ प्रतिशतको भ्याटको विरुद्द पर्यटन व्यवसायी अदालत समेत पुगेका थिए ।
अन्तर्राष्ट्रिय उडानमा भ्याट लगाउने निर्णय अव्यवहारिक भन्दै नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) ले साउन १४ गते सर्वाेच्च अदालतमा मुद्धा दर्ता गरेकाे थियाे । नाट्टाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायत कारण देखाउँदै हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएकोलगायत कारण देखाउँदै रिट दायर गरेको थियो ।
सर्वाेच्चले उक्त रिटमाथि भदौ १५ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चले भ्याट लगाउने बाटो खुला गरेको २४ दिनपछि भ्याट कार्यान्वयनमा आएको हो ।
नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) अध्यक्ष रमेश थापा सर्वाेच्चले मुद्धा खारेज गरेसँगै भ्याट लागूको बाटो खुलेको बताउँछन् । ‘सर्वाेच्चको निर्णय अनुसार सबै वायुसेवा कम्पनीहरु भ्याट तिर्न तयारी अवस्थामा छन्, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) बाट कोड तयार भएर आएपछि थप सहज हुन्छ’, उनले भने ।
अहिले वायुसेवा कम्पनीहरु भ्याट लागू गर्न दोधार देखिएको भन्दै आयटाबाट कोर्ड आएपछि सहज हुने उनको भनाइ छ ।
आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली बजेट लागू भएसँगै हवाई टिकटमा भ्याट लागू भएपनि वायुसेवा कम्पनीको ढिलाइका कारण मंगलबारदेखि लागू भएको बताउँछन् ।
‘यो लागू बजेट लागू भएसँगै लागु भएकोे हो, हवाई उडानमा पहिलो पटक भ्याट लागु हुँदा र केही ट्राभल्स व्यवसायीहरु अदालत जादा कार्यान्वयनमा ढिलाई भएको हो, हामीलाई आजदेखि लागू भयो भनेर आधिकारीक रुपमा जानकारी आइसकेको छैन’, उनले भने ।
‘ हवाइ क्षेत्रकाे भ्याटको नेतृत्व नेपाल एयरलाइन्सले नेतृत्व गर्ने भनिएको छ, कार्यान्वयन जहिलेदेखि आएपनि भ्याट रकम साउन १ गतेदेखिकै भुक्तानी हुनुपर्छ, भुक्तानी भए नभएको सम्बन्धित राजश्व कार्यालयले निगरानी गर्छ’, उनले भने ।
नेपाल वायुसेवा निगमले मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भ्याट लागू भैसकेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेल मंगलबारदेखि १३ प्रतिशत भ्याट लागू भैसकेको बताउँछन् ।
‘आजदेखि भ्याट लागू भैसक्यो, भ्याट कार्यान्वयनमा आएसँगै हवाई भाडादर बढ्यो, यसअघि १ लाख रुपैयाँ बराबरको हवाई भाडादर थियो भने १३ हजार थपिएर १ लाख १३ हजार भयो’, उनले भने ।