नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित

  २०८० असोज ८ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।

उनीहरुले आफ्नो जीवनको अमूल्य समय कम्पनीको सेवामा समर्पित गरेको भन्दै इन्स्योरेन्सले २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो ।

इन्स्योरेन्सले असोज ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखी ७६ वर्षभन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएको बताए । साथै, उनले आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता गरे ।

त्यस्तै, कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले यो अवधिमा सहगोग पुर्याउने सबै सरोकारवालाहरुमा आभार व्यक्त गरे ।

नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राखेको कम्पनीको भनाई छ । सञ्चालन भएको ७६ वर्षमा कम्पनी आफ्ना ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको छ ।

हाल कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा सञ्जाललाई विस्तार गरी कम्पनीका सम्पूर्ण काम कारवाहीलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको इन्स्योरेन्सले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.