काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउँदै उनले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताए । उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने भनाई राखे ।
‘वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरु, अहिले अझै पनि संविधानको मर्म अनुरुप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरु अझै पनि उनीहरुलाई नियन्त्रित रुपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याँइ भएको छ । अब यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ । अब जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न हुँदैन,’ उनले भने ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गरेको थियो । यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उनलाई मायाको चिनो दिई सम्मान गरेका थिए । यसअघि राष्ट्रपति पौडेलले आइतबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए ।