काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्धनमा दुई दशक समर्पित सेवाको अवसरमा २० औं वार्षिकोत्सव मनाएको छ । २००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्धमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्धमीसहित सुरु भएको नेपाली युवा उद्धमी मञ्चले २० वर्ष पार गरी २१ वर्षमा प्रवेश गरेकोमा खुशी साटासाट गरेको हो ।
मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली युवा उद्यमी मञ्चले उद्यमीहरुलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ ।
२०-वर्षको यात्रामा एनवाईईएफको मुख्य उपलब्धिहरु
युवा सशक्तिकरण : नेपाली युवा उद्यमी मञ्च अनगिन्ती युवा उद्यमीहरूलाई सशक्तिकरण गर्न, मार्गदर्शन दिन, स्रोत र नेटवर्किङका अवसरहरू प्रदान गर्नका साथै उनीहरूका नवीन विचारहरूलाई सफल उद्यमहरूमा परिणत गर्न मद्दत गर्न अग्रपङ्क्तिमा रहेको छ ।
नीति एड्भोकेसी : नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरूका लागि निरन्तर आवाजको रूपमा रहेको छ, जसले उद्यमशीलता र आर्थिक वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरि, नीति सुधारको वकालत गर्दै आएको छ ।
मेन्टरशिप कार्यक्रम : मञ्चले उद्धमशीलता सिक्न इच्छुक विद्यार्थीहरुसँग अनुभवी व्यवसायीहरूलाई जोड्दै धेरै मेन्टरशिप कार्यक्रमहरू आयोजना गरेको छ ।
च्याप्टर विस्तार : नेपाली युवा उद्यमी मञ्च ले नेपालभर आफ्नो च्याप्टर विस्तार गरेको छ । लुम्बिनी प्रदेशमा हालै स्थापना भएको १३औं नेपालगन्ज च्याप्टर सहित सबै ७ प्रदेशमा च्याप्टरहरू स्थापना गरेको छ ।
उद्यमशीलाता शिक्षा : मञ्चले लीडर्स प्रोजेक्ट, उद्यमशीलता बुटक्याम्प, युवा उद्यमशीलता सम्मेलन तथा युवा उद्यमशीलता सम्मेलन-महिला जस्ता विभिन्न कार्यक्रमहरू मार्फत उद्यमशीलता शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
मेड इन नेपाल अभियान : मञ्चले २००६ देखि ‘मेड इन नेपाल’ अभियानलाई गर्वका साथ मनाउँदै आएको छ, जसको मुख्य उद्देश्य स्थानीय उद्यमशीलता र उत्पादनहरूलाई प्रवर्द्धन र समर्थन गर्ने, उपभोक्ताहरूलाई स्वदेशी उत्पादनहरु उपभोग गर्न र समर्थन गर्न प्रोत्साहित गर्ने रहेको छ ।
नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले २० वर्षको अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने हाम्रो प्रतिवद्धतालाई सुदृढ पार्न तत्पर रहेको बताइन् ।
मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ ।