२०८० असोज ७ गते १८:२९ विकासन्युज
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवाको उद्घाटन गरेको हो ।
बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले उक्त सेवा सुचारु गर्न लागेको हो ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।
यसै गरि कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
०१-५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ ।
हाल बैंकले २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ । साथै, बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.