पुर्ख्यौली पेसालाई विश्वबजारमा ब्राण्डिङ गर्न कस्सिएका तीन युवा

  २०८० असोज ७ गते १६:३२     विकासन्युज

काठमाडौं । सामान्यतया अमेरिका, यूरोप, अष्ट्रेलिया लगायत विकशित देशमा पुगेका नेपालीहरु उतै बस्ने चाजोपाँजो मिलाउँछन् । उनीहरु उतै सेटल हुने प्रयत्न गर्छन् । कतिपयका लागि विदेश सोख र सपना बनिरहेको छ । स्वदेशमा काम पाइएन, पाइए पनि भनेअनुसारको तलब पाइएन लगायतका समस्याहरु देखाउँदै युवाहरु विदेशिरहेका छन् ।

तर, विदेशी रहनसहन, विदेशी सपना र त्यो शोख छोडेर आफ्नै देशमा रमाउने र कमाउने योजनाका साथ सुरु भएको छ ‘नेपाल टि कलेक्टीभ’ । तीन जना युवाको सक्रियतामा नेपाल टि कलेक्टीभ काठमाडौंको ठमेलमा सुरु भएको छ ।

अमेरिकाको न्यूयोर्कमा व्यवसाय गर्दै आएका तीन युवाहरुले अहिले आफ्नो भविश्य नेपालमै देखेका छन् । अमेरिकाको न्यूयोकर्मा अमेजन मार्फत् नेपाली चियालाई बिक्री गर्दै आएका निश्चल बास्कोटा, प्रतिक रिजाल र अमिगो खडका स्वदेशमा नै चियाको ब्राण्ड गर्न कस्सिएका छन् ।

नेपाली चियालाई अमेजन मार्फत् बिक्री सुरु गरेका उनीहरुले विगत ४ वर्षदेखि ‘नेपाल टि कलेक्टीभ’ नाम मार्फत ब्राण्डीङ गरेर बिक्री गरेका हुन् । उनीहरुले हाल नेपालका विभिन्न स्थानका ८ वटा चिया उद्योगसँग समन्वय गरेर चिया खरिद÷बिक्री गर्दै आएका छन् ।

हाल नेपालमा उत्पादन भएका चियामध्ये ९६ प्रतिशत चिया भारत निर्यात हुँदै भारतीय ब्राण्ड मार्फत् बिक्री हुने गरेको नेपाल टि कलेक्टीभका सञ्चालक अमिगो खड्का बताउँछन् ।

‘अहिले भारतमा मात्रै ९६ प्रतिशतको हाराहारीमा नेपाली चिया निर्यात हुने गरेको छ, तर, नेपाली चिया भनेर आइडन्टिफाइड नै हुँदैन, यसलाई नै परिवर्तन गर्न हामीले नेपाली ब्राण्ड स्थापना गरेका हौं,’ उनले भने ।

भारत लगायतका देशमा निर्यात भएको चिया नेपाली भएपनि नेपाली ब्राण्डलाई स्थापित गराउन नै अमेरिकाबाट नेपाल फर्किएको उनको भनाइ छ । ‘अहिले नेपालमा किसानले राम्रो उत्पादन गर्छन, तर बजारीकरणमा समस्या झेल्नु परेको छ, चियामा पनि समस्या उस्तै हो’, उनले भने, ‘बजारीकरण गर्न नसकेपछि भारतबाट आएका व्यवसायीहरुलाई सस्तो मूल्यमा दिनुपर्ने जुन बाध्यता छ, त्यही बाध्यताको अन्त्य गर्न नै हामी लागि परेका हौं ।’

उनले विभिन्न देशमा चिया खाँदा भारतीय कम्पनीले ब्राण्डिङ गरेको चियाको लेबलमा मात्र नेपाली चिया उल्लेख हुने गरेको बताए । ‘चियाको ब्राण्डिङ गर्न होलसेलमार्फत् सहज हुने भएपछि साथीहरुले नेपालबाट बोराका बोरा चिया अमेरिका लगेर बिक्री सुरु गर्नुभएको थियो, तर उहाँहरुले आफ्नो ब्राण्ड मार्फत् बिक्री गर्ने भएपछि हामीले नेपाली ब्राण्ड मार्फत बिक्री सुरु गरेका हौं,’ उनले भने ।

नेपालकोे विभिन्न फार्महरुको चिया कलेक्सन गरेर हामीले बिक्री गछौँ भन्ने जानकारी दिनकै लागि ‘नेपाली टि कलेक्टीभ’ नाम राखिएको उनको भनाइ छ । होलसेल मार्फत चिया बिक्री गर्दा कम्पनीले विभिन्न १२ वटा अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेको छ । नेपाल टि कलेक्टीभको चिया खरिद गर्ने ग्राहक १० हजारभन्दा बढी पुगिसकेका छन् भने ४.८ रेटिङ पुगेको छ ।

पुर्ख्यौली व्यवसायलाई ब्राण्ड गर्न स्वदेश फर्कियौं

नेपाल टि कलेक्टीभका तीन लगानीकर्तामध्ये निश्चल बास्कोटा र प्रतिक रिजालको पुर्खाेली पेशा नै चिया हो । रिजालका हजुरबुबाले ४० वर्षदेखि पाँचथरको फिदिममा ‘कञ्चनजंघा टी स्टेट’ सञ्चालन गर्दै आएका छन् ।

हजुरबुबाले सञ्चालन सुरु गरेको टी स्टेटमा उत्पादित चिया अमेरिकामा निर्यात गरेर बिक्री सुरु गरेका उनी अहिले नेपाली चियाको ब्राण्डिङ गर्नकै लागि स्वदेशी फर्किएका हुन् ।

‘मेरो हजुरबुबाले १९९० मा फिदिममा पहिलो पटक चिया बगान स्थापना गरेर सञ्चालनमा ल्याउनु भएको हो, त्यो बेलामा फिदिममा न सडक पुगेको थियो न त विद्यालय र विद्युत पुगेको थियो, उनी भन्छन्, ‘४० वर्षमा त्यहाँ धेरै परिवर्तन आयो, त्यसको मुख्य कारण नै हजुरबुबाको कञ्चनजंघा टी स्टेट नै हो ।’

सानो हुँदा बुबाआमाले चिया उद्योगमा काम गरेको देखेका उनले फिदिमबाट न्यूयोर्क लगेर बिक्री गर्ने गरेका थिए । करिब ४ वर्ष अमेजन मार्फत् चिया बिक्री गरेका उनले २ वर्षदेखि ‘नेपाली टि कलेक्टीभ’ नेपाली ब्राण्ड स्थापना गरी बिक्री गर्दै आएका छन् ।

लामो समयसम्म अमेजन मार्फत् चिया बिक्री गर्दा आफ्नै ब्राण्ड बनाउन मन लागेपनि नेपाल टि कलेक्टीभ मार्फत् नेपाली चियाको ब्राण्डिङ गरेको उनी बताउँछन् ।

‘मैले नेपालबाट बोराका बोरा चिया लगेर न्यूर्याकमा बिक्री गरें, मैले बिक्री गरेको नेपाली चिया उनीहरुले आफ्नो ब्राण्ड मार्फत बिक्री गर्ने गर्थे, नेपाली चिया तर भारत र दार्जिलिङको ब्राण्ड मार्फत बिक्री भएको देखेपछि हामीले आफ्नै ब्राण्ड बनाएका हौं,’ उनल भने ।

कम्पनीले चिया बिक्री मार्फत गरेको नाफाको १ प्रतिशत रकम सिधै चिया उत्पादन किसानलाई समेत दिने गरेको छ । नाफाबाट सीमित रकम किसानलाई वितरण गर्दा उनीहरुको मनोबल वृद्धि तथा चिया उत्पादनमा प्रोत्साहन थपिएको उनको भनाइ छ । उनीहरुले चालू आर्थिक बर्षमात्र १३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेका छन् ।

चिया पारखीलाई फाममै लगिने

कम्पनीले चिया पारखीहरुलाई बगान देखाउने गरेको छ । विश्वका चिया पारखीको अनुभव सेयरीङ गर्न तथा उनीहरुलाई नेपालको चिया बगान देखाउनका लागि गत वर्ष मात्रै २६ जना अमेरिकीलाई नेपाल ल्याइएको थियो ।

भिसा र एयर टिकट बाहेक कम्पनीले प्रतिव्यक्ति ३३ सय अमेरिकी डलरमा १० दिनका लागि नेपाला ल्याएर बगानसम्म पुर्याउने गरेको छ । ‘चिया कसरी उत्पादन हुन्छ र कसले उत्पादन गर्छन् भन्ने देखाउन हामीले उनीहरुलाई नेपाल ल्याउँछौँ, यसबाट नेपाली चियाको प्रवद्र्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो’, सञ्चालक रिजालले भने ।

सन् २०१६ देखि अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई अर्थोडक्स चिया बिक्री वापत् उनीहरुले हालसम्म १ करोड कप चिया बिक्री दावी गर्छन् । नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ ।

गत शनिबारदेखि कम्पनीले ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा चिया बार सञ्चालनमा ल्याएको छ । दराज अनलाइन मार्फत विभिन्न प्रकारका चिया बिक्री गर्दै आएका उनीहरुले पहिलो पटक ठमेलमा चिया बार सञ्चालनमा ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.