काठमाडौं । पछिल्लो समय नेपाली सिमेन्टको भारतीय बजारमा माग बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपाली सिमेन्टको माग भारतीय बजारमा बढ्दो अवस्थामा देखिएको हो ।
विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ४२ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको छ । तथ्यांक अनुसार २५ करोड ३६ लाख ४३ हजार रुपैयाँ बराबरको १ लाख ११ हजार १०६ टन क्लिंकर र १६ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख २७ हजार ३०२ टन सिमेन्ट निर्यात गरेको हो ।
नेपालले साउनमा १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७ सय ४२ टन क्लिंकर र ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५ सय ७३ टन तयारी सिमेन्ट निर्यात गरेको हो । गत आर्थिक वर्षमा ७७ करोड ९३ लाख ६ हजार बराबरको १० लाख ४ हजार २३ टन सिमेन्ट निर्यात भएको थियो । जसमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार बराबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको थियो ।
गत २०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घाखाँची ब्राण्डको सिमेन्ट र २०८० को जेठ २९ गतेदेखि बालाजी सिमेन्टले बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।
यस्तै, पछिल्लो समय भदौ २१ गतेदेखि सिजी सिमेन्टले समेत नेपाली सिमेन्ट भारत निर्यात सुरू गरिसकेको छ ।
सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक दश करोडबढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका थिए ।
उनीहरुका अनुसार २०७९ को असारबाट निर्यात सुरु भएको नेपाली सिमेन्टको माग भारतका विभिन्न शहरमा बढ्दो क्रममा रहेको छ । पाल्पा सिमेन्टका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल भारतीय बजारमा माग बढ्दो रहेको बताउँछन् ।
‘अहिले वर्षातको सिजन केही कम निर्यात भएको छ, अब विस्तारै बढ्दै जान्छ’, उनले भने, ‘भारतीय बजारमा नेपाली सिमेन्टको माग राम्रो भएर अहिले अरु उद्योगले पनि निर्यातको तयारी गरिरहेका छन् ।’
सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा नेपाली सिमेन्ट उद्योगीहरु निर्यातमा हौसिएको बताउँछन् । हाल चार वटा उद्योगले निर्यात सुरु गरिरहेका छन्, अब छिट्टै नयाँ उद्योगहरु थपिने क्रममा छन्’, उनले भने ।
उनको कम्पनी कसमस सिमेन्टले निर्यातका लागि भारतसँग अनुमति माग गरिसकेको छ । ‘हामीले अनुमति माग गरेका थियौँ, हामीलाई अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ, अनुमति पाएसँगै निर्यातको तयारी थालिहाल्छौँ’, उनले भने ।