चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन, ७ संस्थाले जनाए प्रतिवद्धता

  २०८० असोज ५ गते १८:१५     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय कार्यदल गठन गरेकी छिन् । शुक्रवार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेकी हुन् ।

‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरुमा लाखौ यात्रृहरुले सास्ती पाउँदै आएका छन्, यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौ,’ मन्त्री ज्वालाले भनिन्- ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा ब्यवस्थापनको काम थाल्छौ ।’ यात्रुहरु ठगिने, बिचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेकी हुन् ।

मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो ।

दशै, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्षेनी १० लाख यात्रृहरु बाहिरिने गरेका छन् । बाहिरिने यात्रृहरुलाई सुरक्षित पुर्याउन मन्त्री ज्वालाले पहल थालेकी छिन् । मन्त्री ज्वालाको प्रस्तावमा यातायात ब्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ ।

‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिदैनौ’ यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज चौलागाईले भने ।

मन्त्री ज्वालाले दशैको बुकिङ खुल्नुभन्दा अगाडी सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिएकी छिन् । ‘बर्षातका कारण सडकहरु बिग्रेका छन्, ति सडकहरु तत्काल सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भनिन् ।

लगतै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिवद्धता जनाएका छन् भने ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफुहरुले कुनै कसरत बाँकि नराख्ने बताएको छ ।

उपभोक्ता संरक्षण मन्त्रका प्रतिनिधिहरुले सडक छेउका होटलहरुले यात्रृहरुलाई दुषित खाना खुवाउने र त्यसको चर्को मुल्य असुल गर्ने गरेको भन्दै त्यसको निरक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन् । मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरुसँग सहकार्य गरी निरक्षण गर्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.