खाजा बेचेरै मासिक एक लाख बचत गर्छन् चितवनका लोकनाथ काफ्ले

  २०८० असोज ५ गते १३:३९     विकासन्युज

चितवन । एक दशक विदेशमा पसिना बगाएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन छन् ।

रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आएका उनलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ । बिहानदेखि रातिसम्म पारिवारिकरुपमा गरिएको व्यवसायमा तल्लीन रहने काफ्ले समय बिहान उठेदेखि ग्राहकको खाजा जोरजाम र खाजा खुवाउँदैमा बित्ने गरेको छ । दिनभरिका लागि आवश्यक पर्ने खाजाका परिकारको तयारीमा बिहानदेखि नै काफ्ले दम्पती जुटछन् । जब अपराह्न हुन्छ तब काफ्लेलाई ग्राहकको मागअनुसारको परिकार बनाउन भ्याइनभ्याइ हुन्छ ।

जिम्मेवारीले थिचेपछि उच्च शिक्षा अध्ययन गर्दैगर्दा सन् २००६ मा रोजगारीको सिलसिलामा उनी साउदी लागेका थिए । घरको आर्थिक अवस्था र गाउँ छिमेकमा कसैले विदेशमा राम्रो कमाइ हुन्छ भनेपछि उनको मन विदेशतिर ढल्कियो । विदेश पुगेपछि मात्र काफ्लेले त्यहाँको वास्तविकता थाहा पाए ।

साउदी, दुबई र कतारसम्मको बसाईका क्रममा उनलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने लागेर नेपाल फर्के । वैदेशिक यात्राका क्रममा समेत होटलमा काम गरेका काफ्लेलाई सुरुआती समयमा भने यहाँ आएर व्यापार गर्न लाज लागेको थियो । वैदेशिक यात्राका क्रममा कमाएको केही रकम घरायसी व्यवहार मिलाउँदा सकिएपछि साथीसँग ५० हजार सापटी र श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका उनी अहिले राम्रो आम्दानी हुन थालेपछि निकै उत्साहित भएका छन् । आशिका दिपिका खाजा घरको नाममा ठेलामा व्यवसाय गर्दै आएका काफ्लेले व्यवसायलाई विस्तार गर्दै सटरसम्म पुर्याएका छन् ।

विदेशबाट फर्किएपछि आम्दानीको स्रोत केही नभेट्टाएर अवसरको खोजीमा लागेका उनले विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका हुन् । काठमाडौँ, हेटौँडा र नारायणगढसम्म ठेलामा व्यवसाय गरेको देखेपछि यो व्यवसाय रत्ननगरमा समेत राम्रो हुने भन्दै त्यता लागेका काफ्लेले सुरुआती दिनमा भएको कमाइ सम्झदा अहिले पनि विदेश जाउँ की जस्तो लाग्ने गरेको बताए ।

सुरुआतमा दिनको तीन सय मात्रै व्यापार हुँदा हतोत्साहित भएका उनी पछिल्ला दिनको व्यापारमा भने सन्तुष्ट छन् । काफ्लेले भने, ‘निरन्तर ग¥यो भने जुनसुकै काममा पनि सफल भइदोरहेछ ।’ खाजाको रुपमा उनले अहिले मःम, ससेज, लालिपक, पकौडा, आलुचप, लेगपिसजस्ता परिकार बिक्री गर्दै आएका छन् । काफ्लेले खाजाको गुणस्तरमा भने कुनै सम्झौता नगर्ने बताए ।

बिहान ल्याएको सामान बेलुकासम्म सकिने बताउँदै उनले अहिले एक दिन व्यापार बन्द ग¥यो भने ग्राहकको गाली सुन्नुपर्ने बताए । ‘अहिले दैनिक  २० हजारसम्मको व्यापार हुँदै आएको छ,’ काफ्लेले भने, ‘खर्च कटाएर मासिक एक लाख बचत हुन्छ ।’

आफ्नो ग्राहक ५० प्रतिशत विदेश पलायन भइसकेको बताउँदै उनलाई आम्दानी हुँदाहुँदै पनि यहाँ बसेर भविष्य बन्दैनकी भन्ने समस्याले भने झस्काइरहने गरेको छ । काफ्लेले थपे, ‘अहिले ठिकै छ । छोराछोरीको भविष्यका लागि फेरी विदेशिनुपर्ने हो की भन्ने लाग्थ्यो तर विदेश जाने सोच भने छैन ।’ विदेशिने युवालाई आफ्नै माटोमा केही गर्न आग्रह गर्दै उनले सीप सिकेर मात्रै विदेश जान आग्रह गरे। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.