२०८० असोज ४ गते १७:५९ विकासन्युज
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजनामा गरेको प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पुर्याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन समेत प्राधिकरणको ध्यानाकर्षण गराए ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिए । बीमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बीमा कम्पनी गाउँ–गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुशी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमा लेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राखेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.