काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका १३ वटै समूह बढ्दा बजारमा हरियाली छाएको हो ।
बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.२३ प्रतिशतले बढी हो ।
परिसूचक बढेसँगै कारोबार रकम पनि दोब्बर बढीले बढेको छ । गत मंगलबार एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिन २ अर्ब १२ करोड रुपैयाँले बढी हो भने साउन १० गते यताकै उच्च कारोबार हो । गत साउन १० गतेको बजारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा जीवन बीमा कम्पनी अगाडि छन् । सबैभन्दा बढी सूर्य नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ भने दोश्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । दोश्रो बजारमा भित्रिएको पहिलो दिनमै सूर्य नेपाल लाइफको २० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपालको भने १३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सर्वाधिक कारोबार भएको सूर्य नेपालको सेयर मूल्य भने घटेको छ । पहिलो कारोबार प्रतिकित्ता ४७५.२० रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य दिनभरमा घटेर प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ ।
बिहीबार दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रो पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोको ९.९९, न्यादी हाइड्रोपावरको ९.९८, खानीखोला हाइड्रोको ९.९८, अरुण काबेली पावरको ९.९७, आँखु खोला जलविद्युत कम्पनीको ९.९५, बाराही हाइड्रोपावरको ९.९२, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.८७ र अप्पर सोली हाइड्रो इलेक्ट्रिक कम्पनीको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा सेयर धितो कर्जामा सीमा हट्ने हल्लाले बिहीबारको सेयर बजारमा एकाएक उछाल देखिएको जानकारहरु बताउँछन् ।