२०८० असोज ३ गते १५:३८ सीआर भण्डारी
काठमाडौं । सेयर बजारप्रति आम मानिसको चासो बढ्दो छ । सेयर बजारमा लगानीकर्ता जोडिनेक्रम जारी छ । नयाँ लगानीकर्तासँगै पछिल्लो सेयर बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । एकपछि अर्काे गर्दै नयाँ-नयाँ कम्पनी दोस्रो बजारमा सूचीकृत भइरहेका छन् ।
दोस्रो बजारमा नयाँ कम्पनी सूचीकृत भएसँगै आईपीओमा लगानी गरेको रकम पनि डुब्ने खतरा बढेको छ । जस्तोसुकै कम्पनीको आईपीओमा पनि लगानीकर्ताहरुले आँखा चिम्लिएर आवेदन दिइरहेका छन् । दोस्रो बजारमा सूचीकृतपश्चात् पनि लगानीकर्ता पछुताउनु परेको छैन । तर, दोस्रो बजारमा एउटा यस्तो कम्पनी छ, जसले लगानीकर्ताको आँखा खुलाएको छ । त्यो कम्पनी हो, समाज लघुवित्त वित्तीय संस्था ।
समाज लघुवित्तले तीन वर्षअघि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गरेको थियो । तर, दोस्रो बजारमा सूचीकृतपश्चात् लघुवित्तको सेयर कारोबार अंकित मूल्यभन्दा कममा भयो । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भयो ।
लघुवित्तको सेयर कारोबारमा आएको २ महिनासम्म पनि लगानीकर्ताले आफ्नो लगानी उठाउन सकिरहेका छैनन् । हाल लघुवित्तको सेयर कारोबार प्रतिकित्ता ७४ रुपैयाँमा कारोबार भइरहेको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले १० कित्ता सेयर १ हजार रुपैयाँमा पाएका लगानीकर्ताको अझै २६० रुपैयाँ घाटा रहेको छ ।
पछिल्लो समय जस्तो कम्पनीले पनि आईपीओ निष्काशन गरेपनि आँखा चिम्लिएर आवेदन दिने लगानीकर्ताका लागि समाज लघुवित्तको सेयर मूल्यले भने सचेत गराएको छ । आईपीओमा आवेदन दिँदा कम्पनी राम्रो वा नराम्रो कस्तो छ भनेर अध्ययन गर्न आवश्यक रहेको भनेर देखाएको लगानीकर्ता बताउँछन् ।
लगानीकर्ता माधव खनाल समाज लघुवित्तको सेयरमा चलखेल भइरहेको बताउँछन् । प्रमोटर-प्रमोटरबीच कारोबार भइरहेको उनको दाबी छ । सेयर मूल्य अंकित मूल्य कम भएकाले कम्पनीको सेयर होल्ड गरेर बस्न लगानीकर्तालाई उनले सुझाव दिए । कम मूल्यमा सेयर बिक्री गर्दा आफ्नो लगानी पनि नउठ्ने भएकाले सचेत हुन उनले आग्रह गरे ।
‘लगानीकर्ताहरुले किन्न चाहेका छन् तर, सेयर खरिद गर्न पनि पाईंदैन किनकी चलखेलमा परेको छ, प्रमोटर-प्रमोटरबीच कारोबार भइरहेको छ, बाउको नाममा भएको सेयर छोराको नाममा सार्ने छोराको नाममा भएको सेयर अर्काको नाममा सार्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले सस्तोमा सेयर खरिद गरेर पछि मूल्य बढाउन खोजेको देखिन्छ, अहिले कुनै पनि लघुवित्तको सेयर मूल्य ४ सय रुपैयाँ भन्दा कम छैन, त्यसैले लगानीकर्ता आफैं सचेत हुनु पर्छ, लगानीकर्ता आफूले आफूलाई जोगाउने समय हो, अन्य लगानीकर्ता थुतेर, तानेर, डराएर लिन पनि सक्छन् । त्यसबाट लगानीकर्ता सजग हुनु पर्छ ।’
आईपीओ भर्दा हौसिने वा आकर्षित हुने लगानीकर्ताहरुलाई समाज लघुवित्तको सेयर मूल्यबाट सचेत हुनु उनले आग्रह गरे । साथै, केही जलविद्युत कम्पनीको सेयर मूल्यबाट पनि सजग हुनु पर्ने अवस्था आएको उनको भनाइ छ ।
‘पहिला लगानीकर्ताहरुले कम्पनीको नेटवर्थ, आम्दानी, व्यवसाय कति छ भनेर अध्ययन गरेर मात्रै आईपीओमा लगानी गर्थे, कोरोनापछि भने जस्तो कम्पनी भएपनि झ्याप्प हाल्न थाले, सेयर बजार फलाउने ठाउँ हो, आज लगानी गर्याे भने भोलि डबल हुन्छ भन्ने मानसिकता बन्यो,’ उनले भने, ‘हाइड्रोपावर कम्पनीहरुले धमाधम आईपीओ जारी गरिरहेका छन् तर, खोलामा हेर्न जाने हो भने कम्पनी देखिँदैनन् ।’
लगानीकर्ता राजु पौडेलले समाज लघुवित्तले १ सय रुपैयाँमा आईपीओ बिक्री गरेर ७४ रुपैयाँमा सेयर मूल्य झर्नु दुर्भाग्य भएको बताए । कम्पनीको रिपोर्ट वास्तविक हो की कागजी रिपोर्ट हो भनेर अध्ययन गर्न एक्सपर्ट टिम खडा गर्नु पर्ने उनको माग छ । जुन टिमले अध्ययन गरेर कम्पनीलाई आईपीओ बिक्री गर्न अनुमति दिनु पर्ने उनको धारणा छ ।
‘यस्ता कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिनु भनेको ‘दालमे कुछ काला हे’ भने जस्तै हो, सबै प्रक्रिया पुर्याएको छ भन्दैमा धितोपत्र बोर्डले बिना अध्ययन अनुमति दिनु गलत हो, प्रक्रिया पुरा गर्दा अडिटर पनि बिकेका हुन्छन्, त्यो प्रक्रिया पुरा गर्याे भन्दैमा अन्धाधुन्दा अनुमति दिनु भएन,’ उनले भने, ‘प्रक्रिया पुरा गरेर आउँदा रिपोर्ट जस्तो पनि बनाएको हुन सक्छ, कागजी रिपोर्ट जसले पनि पुरा गरेको हुन्छ, भौतिक रिपोर्ट लगानीकर्ताले देख्न पाउनु पर्छ, त्यो कागजी रिपोर्ट सही हो की होइन भनेर छानबिन गर्न एक्सपर्ट टिम खडा गर्नु पर्छ तब मात्रै लगानीकर्ताहरु यस्ता कम्पनीमा फस्न सक्ने सम्भावना कम हुन्छ ।’
समाज लघुवित्तको सेयर मूल्य अपवाद मात्रै भएको उनको भनाइ छ । उनका अनुसार हाइड्रोपावर कम्पनीले अनुमति पाएर आईपीओ बिक्री गरिसकेका छन् तर, भौतिक रुपमा कम्पनी फिल्डमा हुँदैन । कतिपय कम्पनीहरु खोलाले बगाएर अस्तित्व नै मेटिसकेका रहेको उनको दावी छ ।
लगानीकर्ता छोटेलाल रौनियार आईपीओमा आवेदन दिँदा कम्पनीको नेटवर्थ हेर्नु पर्ने बताउँछन् । नकारात्मक नेटवर्थ भएको कम्पनीको सेयर १ सय रुपैयाँमा निकाल्दा लगानीकर्ताहरुलाई घाटा नै रहेको उनको भनाइ छ ।
‘आईपीओमा लगानी गर्दा धेरै विचार गर्नु पर्छ, नेपालमा म्युचुअल फण्डहरु फ्लप भएका छन्, १० रुपैयाँ पर्ने फण्डको ७/८ रुपैयाँमा झरेका छन्, त्यसैले आईपीओ निकाल्दा सबै कम्पनी राम्रो हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘कम्पनीको रेटिङ, कम्पनीको नेटवर्थ हेर्नु पर्छ, नकारात्मक नेटवर्थ भएको कम्पनीको सेयर १ सय रुपैयाँमा पनि घाटा हुन्छ, त्यसैले १ सय रुपैयाँमा पायो भन्दैमा खरिद गर्नु पर्छ भन्ने छैन ।’
उनका अनुसार सेयर बजारबारे सचेतनामुलक कार्यक्रम गर्नु पर्ने देखिन्छ । सेयर बजारबारे ज्ञान नभएका लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेका कारण कमजोर कम्पनीको आईपीओमा पनि आवेदन पर्ने गरेको उनको भनाइ छ । ‘आँखा खोलेर लगानी गर्नु पर्छ, खुन पसिना बगाएको बचत डुब्ने सम्भावना हुन्छ, कम नेटवर्थ भएका कम्पनीको आईपोमा आवेदन दिन विचार गर्नुपर्छ,’ उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.