काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताएका छन् ।
बुधबार संविधान दिवसको अवसरकाठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सिमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।
बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरुको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरुको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्म गरिएको बताए । दु्रत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने जानकारी दिए । द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ शुरु गरेको छ त्यही उत्साह निरन्तर रुपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताए । उनले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनैपनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिवद्धता जनाए ।
मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र बिस्तार दुवै गर्ने बताए । सरकारले सञ्चालन गरेको द्रुुत बसमा यात्रुहरुलाई कहाँ समस्या भयो ? कहाँ ट्राफिक समस्या भयो । सूर्यविनायक देखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्याउने योजना रहेको बताए । उनले सरकार धेरै चुनौतिहरुका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि बिस्तार गर्दै जाने पनि जानकारी दिए ।
‘राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबार लगायतका स्थानहरुमा बिहानको समयमा यात्राहरु धेरै आउन र बेलुका जाने समयमा यातायातको ठूलो आवश्यकता पर्ने र ट्राफिक चाप पर्ने अवस्थालाई ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा दु्रत बस सञ्चालन गर्ने निकर्षमा पुग्यौं । एयरपोर्ट,रिङरोड,नागढुङ्गा,ललितपुर,बालाजु,महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै जान्छौं । सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्छौं । अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्याउँछौं । सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि विस्तार गर्दै जाने छौं । अहिले सरकार धेरै चुनौतीहरुको बीचमा छौँ ’, उनले भने ।
त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था हुनुपर्छ भन्ने धेरै लामो समय देखिको माग आज सम्बोधन भएको बताए । उनले सरकारले सार्वजनिक यातायातलाई पहिलो पटक एम्बुलेन्सको प्राथमिकतामा राखेर कामको स्वागत गर्ने बताए । उनले द्रुत बस सेवा सरकारले दीर्घकालिन रुपमा सञ्चालन गर्नु आवश्यक रहेको जानकारी दिए । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन दुई दिनको मिडिया बाजीको लागि मात्रै सिमितता राख्न नहुने बताए ।
उदघाटन पश्चात द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् । यात्रुहरुका लागि भने असोज चार गते बिहीवारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुनेछ । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।