बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन

  २०८० असोज २ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमा सर्भेयरको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका थिए । अध्यक्ष सिलवालले प्राधिकरणबाट संचालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरेका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट संचालित परीक्षामा भागलिन प्राधिकणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज संचालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सबमिट गरेका थिए ।

सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.