हामीलाई सत्ता गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

  २०८० असोज १ गते १५:०४     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताए ।

उनले सबै सो षड्यन्त्रबाट होशियार रहन आग्रह गरे। उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताए । गठबन्धन बनाउने काममा भुमिका आफूहरुले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताए । अनुचित कुराका बिरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताए ।

उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भुमिका हामीले नै खेलेको हो । विगतमा पनि हामीले भुमिका खेलेको हो । अहिले पनि हामीले भुमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भुमिका खेल्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे। उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताए । उनले एमसीसीको घोर बिरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताए ।

उनले भने, ‘विगतमा भएका सरकारहरुले केही सम्झौता गरेका थिए । त्यस सम्झौतालाई एमसीसी भनिन्छ । मिलिनियम कम्प्याक्ट कोप्रेशनले जुन एउटा योजना ल्यायो, पहिले त्यो बेलामा कम्युनिष्ट पार्टीकै सरकार थियो । केपी ओलीकै सरकार पनि थियो । परराष्ट्रमन्त्री पनि थिए । कमी कमजोरी हामीले देख्यौँ । हाम्रो मुलुकको स्वाधिनतामा स्वाभिमानमा, परराष्ट्र नीतिमा असर पर्नेकुरा देख्यौँ । त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अंग बनाएर पारित गरेका छौँ । केही पार्टीले केही थप्नु पर्दैन, संशोधन परिमार्जन गर्नु पर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेका थिए । यदी हामीले व्याख्यात्मक घोषणाको रुपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुने थियो । नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनु पर्दथ्यो ।’

अध्यक्ष नेपालले एमसीसीको बिरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.