२०८० असोज १ गते १२:५९ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको चीनसँगकाे व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालबाट निर्यात हुने मुख्य १० वटा वस्तुको निर्यात कम हुँदा व्यापार पनि घटेको हो ।
नेपालले चीनको तुलनामा भारतसँग बढी वस्तु व्यापार गर्ने भएपनि चीनमा पनि केही वस्तुहरु निर्यात गर्दै आएको छ । साउनको तथ्यांक अनुसार मुख्य १० वटा वस्तुहरुको निर्यातको अवस्था कहाली लाग्दो छ ।
नेपालमा अधिकांश वस्तुहरु चीनबाट आयात हुने भएपनि केही वस्तुहरु भने नेपालबाट पनि निर्यात हुन्छन् । तर, त्यो सीमा न्यून हुन्छ । चीनबाट हुने प्रत्येक सय रुपैयाँको आयातको तुलनामा नेपालले ३० पैसा बराबरको मात्र निर्यात गर्ने गरेको छ ।
साउन महिनाको आँकडा हेर्दा चीनबाट मुख्य ४६ वस्तुको २१ अर्ब ९४ करोड ९० लाख रुपैयाँको वस्तु आया हुँदा नेपालबाट निर्यात भएका १० वटा वस्तुबाट ३९ करोड २० लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
नेपालबाट अगरवत्ति, हस्तकलाका सामग्री, चाउचाउ, पस्मिना, तयारी पोशाक, छाला, रुद्राक्ष, चिया र कार्पेट गरेर मुख्य १० वटा वस्तु निर्यात भएको देखिन्छ ।
साउनमा नेपालबाट ६० लाखको अगरवत्ति, साढे ६करोडको हस्तकलाको सामग्री, २० लाखको पस्मिना, १ करोडको ७० लाख रुपैयाँको गार्मेन्ट, २० लाख रुपैयाँको रुद्राक्ष, २ करोड ८० लाखको कार्पेट गरी कुल ३९ करोड २० लाख रुपैयाँको मुख्य १० वस्तुहरु निर्यात भएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.