२०८० भदौ ३१ गते १६:४३ विकासन्युज
काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि भएको हातपातको विषयलाई लिएर आइतबार नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भए । नेपाल प्रहरीले चिकित्सक कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाइसकेपछि पनि अत्यावश्यक सेवा बन्द गर्ने चिकित्सकहरुको हड्तालमा सरकार मुखदर्शक मात्रै बन्न पुगेको छ ।
सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ अनुसार गत जेठमा राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ प्रकारका सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने बताएको थियो । तर, मानिसहरुको जीवनसँग जोडिने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सक संघको अगुवाइमा आइतबार भएको हड्तालका कारण हजारौं बिमारीहरुले देशैभरी उपचार सेवा प्राप्त गर्न सकेनन् । जसलाई सरकारले समयमा रोक्ने काम गर्न सकेन ।
आइतबार चिकित्सकहरुको आन्दोलनका तस्विरसँगै अस्पतालहरुमा बिमारीहरुले उपचार नपाएर पीडा भोगिरहेको तस्बिर पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाएका छन् । शनिबार नै विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले आइतबारका लागि आन्दोलनको घोषणा गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले भने चिकित्सकहरुले आन्दोलन गरेर सेवा प्रभावित भइसकेपछि मात्रै स्वास्थ्य सचिवको नेतृत्वमा वार्ता समिति बनाएर वार्ताकोलागि आन्दोलनकारी चिकित्सकहरुलाई बोलाउने काम गर्यो ।
यो समाचार तयार पार्दासम्म दुवैतर्फका वार्ताटोलीका प्रतिनिधिहरुबीचमा छलफल भइरहेको छ । एउटा कुनै अस्पतालमा भएको घट्नाको विषयलाई लिएर देशैभरीका अस्पतालका सेवा प्रभावित गर्न मिल्छ भन्ने प्रसंगमा नेपाल चिकित्सक संघका महासचिव सञ्जिव तिवारीले चिकित्सकहरु असुरक्षित हुनपुगेकाले आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भएको प्रतिक्रिया दिएका छन् ।
उनले चिकित्सकलाई कुटपिट गर्नेलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई नै दबाव दिएपछि मात्रै सम्भव भएको भन्दै घट्नामा सहभागी सबैलाई अझै पक्राउ नगरिएकाले चिकित्सकहरु आन्दोलनमा जान बाध्य भएको बताए । ‘हामी प्रधानमन्त्री कार्यालय गएर प्रधानमन्त्री सचिवालयबाट फोन गरिसकेपछि बल्ल पक्राउ गरिएको हो, जम्मा ४ जनालाई पक्राउ गरिएको छ’, डा. तिवारीले भने, ‘तपाईंले सिसिटिभी फुटेज हेर्नुस, घट्नामा संलग्न २५ जना छन्, यस्तो सामूहिक सांघातिक हमलामा ४ जनालाई मात्रै गिरफ्तार गरेर त भएन, प्रहरीले जाहेरी नै दर्ता नमानेर सेन्ट्रल एनएमएको अध्यक्षको नाममा जाहेरी गरेका हौं, यस्तो अवस्थामा हामीले कसरी सेवा दिन सक्छौं ?’
डा. तिवारीले पछिल्लो हप्ता मात्रै चिकित्सकहरुमाथि कुटपिटदेखि अभद्र व्यवहार गर्ने घट्ना ५ वटा भएको र सुरक्षाकर्मीले आफ्नो काम नगरेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताए । काम गर्नको लागि भयरहित वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।
के एक ठाउँको घट्नामा सहभागी भएका व्यक्तिहरुलाई कारवाही गरेर मात्रै आगामी दिनमा यस्तो घट्नामा न्यूनिकरण हुनसक्छ र भन्ने सन्दर्भमा डा. तिवारीले बिमारीका आफन्तले आफ्ना बिमारीहरुको उपचारमा कमिकमजोरी भएमा उजुरी दिने एनएमसी, अदालत लगायतका निकायमा उजुरी दिन सचेत गराउने विषयमा कमजोरी रहेको औंल्याएका छन् ।
‘बिमारीहरुको उपचारमा कमिकमजोरी भयो भने एनएमसी, सिडियो अफिस र अदालतमा उजुरी गर्ने विषयमा जनतालाई सुसूचित गर्नपर्छ, यो विषयमा अभाव भइरहेको छ, यो विषय पनि सरकारलाई हामीले भनेका छौं’, डा. तिवारीले भने ।
चिकित्सकहरुको संगठन विशाल र बलियो छ । पेशागत हकहितका विषयमा सो संगठनले लामो समयदेखि आन्दोलन गर्दै आएको पनि छ । तर, समग्र स्वास्थ्य क्षेत्रलाई उच्च मर्यादित बनाउने विषयमा संघको भूमिका पुगेनकी भन्ने सन्दर्भमा डा. तिवारीले सरकारले नै सो क्षेत्रलाई व्यवस्थित बनाउन भूमिका नखेलेको बताएका छन् । २२ वर्ष अगाडि ३३ हजार भएको स्वास्थ्यकर्मीको संख्या २२ वर्षपछि घटेर ३१ हजारमा झरेको भन्दै उनले सरकारले बजेट समेत घटाउने काम गरेको बताएका छन् ।
‘दरबन्दी थप नगर्ने, बजेट कटौती गर्ने अनि यसरी बिमारीले प्रभावकारी उपचार त पाउन सक्दैनन् नी’, उनले भने, ‘सुरक्षा निकायमा ०४६ सालबाट अहिलेसम्म के कति बढ्यो ? स्वास्थ्यमा त झन घट्यो, कसरी प्रभावकारी सेवा प्रवाह हुनसक्छ ? सरकारकै कारण स्वास्थ्य क्षेत्रमा अहिलेको समस्या आएको डा. तिवारीको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.