
कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार तथा अस्पतालको ३७ लाख ६५ हजार रुपैयाँ खर्च भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ ।
‘खासगरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ, कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने ।
कुरुवा घरमा १५ कोठा रहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो । करिब २७ करोड रुपैयाँको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटीलगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ ।
अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ । अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।
एक सय श्ययाको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ श्ययामार्फत सेवा दिइरहेको छ ।रासस