२०८० भदौ २९ गते १८:१२ विकासन्युज
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को सिनामंगलमा निर्माणधिन नयाँ भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । १ अर्व ८० करोड रुपैयाँमा निर्माण गरिएको प्राधिकरणको केन्द्रीय कार्यालयको नयाँ भवन शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
प्राधिकरणले २०७१ साल माघ २७ गते सिनागंलनमा प्रधान कार्यालयका लागि भवन निर्माण गर्न निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण सक्ने सम्झौता भएता पनि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाई गरिएको थियो ।
नयाँ भवनमा परिसरमा ६५ वटा गाडी र १२० वटा मोटरसाइकल र स्कुटर पार्किङ क्षमता रहेको छ। चारवटा लिफ्ट राखिएको भवनमा पहिलो चरणमा ६४ करोड र दोस्रो चरणमा ४७ करोड गरी कुल १ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ।
उक्त भवन प्राधिकरणको आफ्नै लगानीमा स्वदेशी कामदारबाट निर्माण सम्पन्न भएको प्राधिकरणका महानिर्देशन प्रदिप अधिकारीले जानकारी दिए । उनका अनुसार स्वदेशी इन्जिनियरको डिजाइन र स्वदेशी निर्माण कम्पनीले सो भवन निर्माण गरेको हो ।
तुण्डी रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो । संरचनाको डिजाइन गरेको एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले १२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्षमता रहने प्राधिकरणले जनाएको छ।
स्थानिय तह सञ्चालन ऐन २०७४ अनुसार सबै सरकारी कार्यालयले अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार प्राधिकरणले सो भवनको नक्शापासका लागि महानगरमा निवेदन दिइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नक्शा पास प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।
काठमाडौं महानगरपालिकाले भूमि र सम्पत्ति कर भुक्तानी गर्न निर्देशन गरेको क्यानले जनाएको छ, तर सरकारी कार्यालयले उक्त कर भुक्तानी गर्ने गरेको छैन ।
प्राधिकरणले आफ्नै स्रोतमा मूल्य अभिवृद्धि कर बाहेक १ अर्ब ८० करोड रुपैयाँ खर्च गरि नेपालकै एक आधुनिक सुविधायुक्त कार्यालय भवन निर्माण गरेको छ । यस भवनमा कर्मचारी तथा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तराष्ट्रिय स्तरको वातावरण उपलब्ध गराईएको छ ।
उड्डयन प्राधिकरण एक अन्तराष्ट्रिय प्रकृतिको संस्था भएकोले स्वदेशी विदेशी सेवाग्राही अन्य देशका नियामक तथा हवाई सेवा प्रदायक संघ संस्थाहरुलाई दिनुपर्ने सेवा समेतलाई मध्यनजर गरि स्वदेशी जनशक्तीद्वारा निर्मित यस भवनले सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.