२०८० भदौ २९ गते १७:४१ विकासन्युज
फाइल फोटो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबान) का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भएको स्वीकारेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
‘नयाँ स्टक एक्सचेञ्ज ल्याउन असफल भएका छौं,’ थप्दै उनले भने- ‘पुँजी बजारमा प्रतिस्पर्धा गर्न नयाँ स्टक ल्याउन सबै प्रक्रिया पुर्याएर तीन कम्पनीको आवेदन परेको भएपनि १२/१३ महिनाको अवधिमा ल्याउन असफल भयौं ।’
त्यस्तै, उनले सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताए । ‘पहिला सेबोनले लिने शुल्क घट्छ अनि मात्रै ब्रोकर कमिसन घट्छ,’ उनले भने- ‘ब्रोकर कमिसनका विषयमा व्यवसायबीच डिभियसन हुनु हुँदैन, ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन ।’
गहन रुपमा छलफल गरेर बनाइएको नीतिले देशको अर्थतन्त्रमा कुनै असर नपर्ने अध्यक्ष हमाल बताउँछन् । नेपालको नीति नियमहरु धेरै कडा रहेकोले कसैले गलत गर्छु भन्ने मनसाय बनाउनु बेकारको हुने उनको भनाई छ ।
‘नेपालको अर्थतन्त्र संकटग्रस्त भएको छैन, रिकोभरि भैरहेको छ, तर नेपाली समाज उत्ताउलो भयो, किनभने सामान्य विषयलाई पनि भयावह बनाइदिन्छन्,’ उनले भने ।
पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताउँदै बोर्डका अध्यक्षले अहिलेका आएका नीतिहरु सबै लागू गर्ने जिकिर गरे । बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको र १० कित्ते नीतिका नराम्रो पक्ष भएपनि जनमानसमा यो नीति स्थायी भैसकेको उनको भनाई छ ।
साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीको सेयर मूल्य धितोपत्र बोर्डको आइक्यानको उपाध्यक्षको संयोजकत्वमा रहेको समेत उनले जानकारी गराए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.