१ करोडभन्दा बढी मूल्य पर्ने यी सुविधा सम्पन्न गाडी, क्यास ब्याकदेखि बीमासम्मको सुविधा

  २०८० भदौ २९ गते १७:१२     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा गत भदौ २६ गतेबाट सञ्चालनमा आएको ‘नाडा अटो शो–२०२३’ रौनक बेग्लै छ । प्रदर्शनीमा अवलोकन गर्न आएका अवलोकनकर्तालाई गाडीको बारेमा बुझाउन कम्पनीलाई भ्याइनभ्याई छ ।

अटो शो चौथो दिन आज पनि अवलोकनकर्ताको उपस्थिति बाक्लो देखिन्छ । गाडी प्रदर्शनीले मात्र नभई गाडीको मूल्यले पनि शोलाई थप आकर्षित बनाएको छ । शोमा दर्जनौं पेट्रोल र ईभीबाट चल्ने गाडीहरू राखिएका छन् ।

लामो समयपछि भएको उक्त अटो शो गाडी किन्न चाहनेहरूको लागि अवसर पनि हो । शोमा लाखदेखि करोडौं मूल्य पर्नेसम्म गाडीहरू उपलब्ध छन् । गाडी अनुसारका विशेषता र आधुनि प्रविधिका गाडी हेर्न लागि भए पनि अवलोकनकर्ता शोमा पुग्ने गरेका छन् ।

प्राय जसो कम्पनीले शोमा निश्चित गाडी राखेका छन् । अहिले शोमा न्यूनतम १७ लाख रुपैयाँदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गाडी शोमा राखिएका छन् । अटो शोमा यी गाडीहरुमा क्यास ब्याकदेखि बीमाको सुविधा दिएको छ ।

निसानको नवरा 

निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अटो शोमा विभिन्न मोडलका गाडीहरू राखेको छ । केही गाडी शोमै उपलब्ध छन् भने केही शोरुममा छन् । निसानका नेपाली बजारमा धेरै मोडलका गाडी उपलब्ध छन् । जसमध्ये एक्स–ट्रेल मोडलका दुई वटा भेरियन्टका गाडीको मूल्य करोड भन्दा बढी तोकिएको छ ।

त्यसमध्ये कम्पनीले एक्स–ट्रेलको ५ सिटर भेरियन्टको गाडीको मूल्य एक करोड ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्स–ट्रेलकै ७ सिटर भएको १९९७ सीसीको गाडीको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले निसारको नवरा एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकेको छ । २४८८ सीसीको उक्त गाडीमा आधुनिक विशेषता रहेको कम्पनीले बताएको छ । नवरा एटीको भेरियन्ट गाडीको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकेको छ ।

महिन्द्राको स्कोर्पियो र एक्सयुभीको मूल्य एक करोड

नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि आफ्ना गाडीहरू नाडा अटो शोमा राखेको छ । अटो शोमा कम्पनीले गाडीका सबै मोडल नराखेता पनि टप मोडल भने राखेको छ । महिन्द्राका केही गाडीको मूल्य एक करोडभन्दा बढी छ ।

महिन्द्राको एक्सयुभी ७०० एएक्स७एल गाडीका दुई भेरियन्ट छन् । कम्पनीले एमटी पीईटी एफडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड ५ लाख राखेको छ । यस्तै, एटी पीईटी एफडब्लुडी भेरियन्टको गाडी मूल्य एक करोड १० लाख रुपैयाँ राखेको छ । इन्धनबाट चल्ने यी दुवै गाडी १९९७ सीसीका छन् भने ७ जनाले एक पटकमा यात्रा गर्न सकिन्छ ।

नेपाली बजारमा महिन्द्रा स्कोर्पियोका दुइटा भेरियन्टका गाडीको मूल्य एक करोडभन्दा बढी पर्छ । जेटएट फोरडब्ल्यूडी एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १४ लाख रुपैयाँ छ । अर्को भेरियन्ट जेट८ फोर डब्लुडी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ तोकिएको छ । यो गाडी पनि सात सिटको हो ।

जीडब्लूएमका हवलको मूल्य पनि एक करोड

नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडीको आधिकारिक बिक्रेता भी.जी इम्पेक्सले पनि एउटा मोडलको गाडीको मूल्य करोड बढी राखेको छ । हवल मोडलको एटी एडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कियाको स्पोर्टेज पनि करोडमा

कियाको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले स्पोर्टेज मोडलको गाडी एक करोड बढी मूल्यमा उपलब्ध गराउँदै आएको छ । उक्त मोलडको २.० एल भेरियन्टको गाडीको मूल्य एक करोड २५ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

सिट्रोनको मूल्य १ करोड

सिट्रोनको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले सिट्रोनको सिट्रोन सी ५ एयरक्रोस मोडलको गाडीको मूल्य १ करोड ३५ लाख रुपैयाँ राखेको छ । यस गाडीमा अन्य गाडीमा पनि नपाइने विभिन्न सुविधाहरु छन् ।

फोर्डको दुई मोडलको मूल्य करोड माथि

फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोवाइल्सका दुई मोडलका विद्युतीय गाडीको मूल्य करोड माथि पर्छ । फोर्डको गाडीको रेंजर मोडलको दुई वटा भेरियन्टमा उपलब्ध छन् । एक्सएल एटीभेरियन्टको मूल्य एक करोड १० लाख छ भने एक्सएलटी एटी को मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यस्तै, नेक्स्ट जीईएन फोर्ड रेंजर मोडलको गाडी पनि दुइटा भेरियन्टमा उपलब्ध छन् । जसमध्ये एक्सएल एटीको मूल्य १ करोड १० लाख ९० हजार, एक्सएलटी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ छ ।

हुन्डाई आइकोनिक

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेताले लक्ष्मी इन्टर कन्टिनेन्टलले अटो शोमा विभिन्न कम्पनीहरुको गाडी राखेको छ । जसमध्ये हुन्डाई आइकोनिक-५ धेरैको आकर्षण बनेको छ । जसको मूल्य कम्पनीले एक करोड २९ लाख ६ हजार रुपैयाँ तोकेको छ । यो ईभी गाडी हो ।

यस्तै, टक्सनमोडलको तीन वटा मोडलको मूल्य पनि डेढ करोडको बिचमा रहेको छ । टक्सन मोडलको जीएलएक्स-२डब्ल्यूडी-एटी भेरियन्टको १९९९ सीसीको गाडीको मूल्य एक करोड ३७ लाख ९६ हजार रुपैयाँ थियो । जुन गाडी पेट्रोलबाट चल्छ । हुन्डाई यीभन्दा बढी मूल्य पर्ने गाडी पनि उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.