२०८० भदौ २९ गते ९:५९ विकासन्युज
काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन् ।
यातायात ब्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठुला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।
सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए ।
‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो । तर लामो बर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन । तर बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ ।
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग थालेको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ ।
विहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएको हो । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का बिषयमा केहि आशंकाहरु उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने ।
अहिले विहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुनेभएको छ । विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.