४ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

  २०८० भदौ २९ गते ११:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सानिमा बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, एनआईसी एशिया बैंकको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।

माछापुच्छ्रे बैंकले भने लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ । बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते होटल पोखरा ग्राण्ड कास्कीमा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.