अघिल्लो वर्ष एक रुपैयाँ पनि भत्ता नबुझेका पिएमओका कर्मचारीले गत वर्ष कसरी बुझे १६ लाख ?

  २०८० भदौ २९ गते १२:४८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री कार्यालयको कर्मचारी बैठक भत्ता वितरणमा अनौठो अवस्था देखिएको छ । अघिल्लो आर्थिक वर्षमा साे कार्यालयका कर्मचारीहरुले बैठक भत्ता बापत एक रुपैयाँ पनि नलिएकाेमा गत आवमा भने १६ लाख रूपैयाँ बढी भत्ता  बुझेका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाअनुसार आव ०७८/०७९ मा सो कार्यालयले कर्मचारी भत्ताको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले सो आवमा कर्मचारीलाई बैठक भत्ता वापत भने रकम खर्ज गरेकाे देखिँदैन ।

गत आव ०७९/८० मा सो कार्यालयले कर्मचारीको बैठक भत्ता शिर्षकमा ९ लाख बजेट विनियोजन गरेको थियो । कर्मचारीलाई भत्ता वापत १७ लाख ८० हजार ४५० रुपैयाँ वितरण गरेको थियाे ।

आव ०७७/७८ मा कर्मचारीको बैठक भत्ता शिर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये सो आवमा जम्मा १ लाख ६५ हजार रुपैयाँ कर्मचारीको भत्ताका लागि खर्च गरेको थियो ।

कर्मचारी बैठक भत्ता बाहेक पनि प्रधानमन्त्री कार्यालयले अन्य भत्ता शिर्षक राखेर बजेटको व्यवस्था गर्ने र खर्च गर्ने गरेको छ । पछिल्लो तीन आर्थिक वर्षमा सो कार्यालयले अन्य भत्ता शिर्षकमा पनि तेब्बर बढी रकम खर्च गरेको सूचनामा उल्लेख छ ।

आव ०७७/७८ मा अन्य भत्ता शिर्षकमा जम्मा ७ लाख ७४ हजार ६७५ रुपैयाँ खर्च गरेको सो कार्यालयले गत आव ०७९/८० मा भने सोही शिर्षकमा २१ लाख ३४ हजार एक सय रुपैयाँ खर्च गरेको छ । जुन रकम झण्डै तीन गुणा बढी हुन जान्छ । त्यस्तै, सोही शिर्षकमा प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा गत आवको भन्दा पनि धेरै २३ लाख २४ हजार ४६८ रुपैयाँ खर्च गरेको थियो ।

कर्मचारीको इन्धन खर्च पनि दोब्बर

कायार्लयबाट प्राप्त सूचनाअनुसार ३ वर्ष अगाडि अर्थात् आव ०७७/७८ को तुलनामा आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयका कर्मचारीले इन्धनमा ६० प्रतिशत भन्दा धेरै खर्च गरेका छन् । आव ०७७/०७८ मा सो कार्यालय प्रयोजनको लागि इन्धनमा एक करोड २१ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये ९२ लाख १७ हजार ३३३ रुपैयाँ खर्च गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा कार्यालय प्रयोजन इन्धनको लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये विनियोजन गरिएको भन्दा धेरै १ करोड ५२ लाख ७१ हजार छ सय ९७ रुपैयाँ खर्च भएको थियो ।

पछिल्लो गत आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयले कार्यालय प्रयोजनको लागि इन्धन शिर्षकमा १ करोड २९ लाख रकम विनियोजन गरेको थियो । तर, सो शिर्षकमा सो आवमा २ करोड ३२ लाख १७ हजार ८७७ रुपैयाँ खर्च गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री लगायत पदाधिकारीलाई इन्धन खर्चको लागि भिन्नै शिर्षकमा बजेटको व्यवस्था गरेर खर्च गर्ने गरेको छ । पछिल्लो तीन वर्षमा प्रधानमन्त्री लगायतका सचिवालयमा काम गर्ने सचिवालय लगायत अन्य पदाधिकारीहरुको इन्धनको लागि प्रधानमन्त्री कार्यालयले १ करोड ३६ लाख ४० हजार आठ सय ६३ रुपैयाँ खर्च गरेको छ ।

प्रधानमन्त्री कार्यालयका लेखा प्रमुख सुर्यबहादुर भण्डारीले कुनै वर्ष गत आवमा निर्वाचन भएकाले सो सन्दर्भमा जोडिएर प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले काम गर्दा इन्धनमा बढी खर्च भएको हुनसक्ने बताएका छन् । साथै उनले कुनै वर्षमा भत्ता लिने प्रकृतिका बैठक बढी भएको कारणले पनि गत आवमा भत्ता बढी भएको हुनसक्ने प्रतिक्रिया दिए ।

आर्थिक वर्ष ०७७/०७८ को खर्च विवरण

आर्थिक वर्ष ०७८/०७९ को खर्च विवरण

आर्थिक वर्ष ०७९/०८० को खर्च विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.