फेरि बढ्यो ब्याजदर, २४ वर्ष यताकै उच्च

  २०८० भदौ २८ गते २१:५१     विकासन्युज

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले विश्वका राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार ब्याजदरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ ।

नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका हुन् । चासोका रूपमा हेरिएको निक्षेप दरलाई ४ प्रतिशतमा पुर्याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुगेको हो । अर्थात् ईसीबीले २४ वर्ष यताकै उच्च बिन्दुमा ब्याजदर पुर्याएको हो ।

रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको थियो । र, यो लगातार १० औं वृद्धि हो ।

युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको हो । ईसीबीले मुद्रास्फीति अझै पनि ‘धेरै लामो समयसम्म निकै उच्च रहने अपेक्षा गरेको छ । बैङ्कले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै २ प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ ।

ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले भने, “दरहरू अब उच्च स्तरहरूमा पुगेका छन् जसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न पर्याप्त योगदान गर्नेछ ।

आर्थिक विश्लेषकहरूले ब्याजदर वृद्धिको हालको लय समाप्त हुँदै गएको सङ्केत गरेको विश्वास गरेका छन् ।

“ईसीबीको सञ्चार स्पष्ट छ ः आज वर्तमान चक्रमा अन्तिम वृद्धि थियो,” आईएनजी अर्थशास्त्री कार्सटन ब्रेजेस्कीले भने ।

बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले यो अहिलेका लागि अन्तिम वृद्धि भएको र केन्द्रीय बैंकले ‘अबदेखि महत्वपूर्ण समयका लागि होल्डमा रहने सङ्केत गरेको’ बताए ।

ईसीबी रोकिने वा ब्याजदर बढाउने भन्ने विषयमा पर्यवेक्षकहरू बैठकअघि विभाजित भएका थिए ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.