कोरोनापछि होटलमा लगानी बढ्दै, ४ अर्ब बढीमा बन्दैछन् यी २० होटल

  २०८० भदौ २८ गते ११:३०     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा ५१ वटा स्वदेशी उद्योगमा झन्डै ३१ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले भदौ २४ गतेसम्मको तथ्यांक अनुसार ५१ वटा स्वदेशी उद्योगका लागि ३० अर्ब ८० करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रका २० उद्योेगमा लगानी भित्रिएको छ । पर्यटन क्षेत्रको संख्या ठूलो भएपनि लगानी रकम भने कम रहेको छ । २० वटा पर्यटन क्षेत्रका उद्योेगका लागि ४ अर्ब १६ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबर रहेको छ ।

उर्जा क्षेत्रका ३ उद्योगमा भने करिब १८ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उर्जाका उक्त उद्योगमा १७ अर्ब ८४ करोड ९६ लाख ३७ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ ।

कुन होटलमा कती प्रतिवद्धता ? 

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिना (साउन १ गतेदेखि भदौ २४ गतेसम्म) को अबधिमा २० वटा होटलका लागि सवा ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता रुपन्देहीको होटल बुद्ध स्टार प्रालिका लागि आएको छ । ठूला उद्योगका रुपमा उक्त होटलमा १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो ।

पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी रहेको उक्त होटलले उद्योगमा दर्ता गर्दा ५ सय किलोबाट विद्युत खपत गर्नेछ भने होटलले १०३ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, होटल बुद्धपछि कास्कीमा वाटफोर्ड होटल म्यानेजमेन्टले १ अर्ब १६ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेको छ । यस्तैगरी, काठमाडौंको डिज बुटिक होटलले २० करोड, दाङको होटल पाँवाले १२ करोड, काठमाडौंको सिवङ्ग झि रेष्टुरेन्टले १० करोड, काठमाडौंको गोल्डेनजिन होटलले २ करोड, काठमाडौंको होटल संकाइले ४ करोड, कास्कीको एल बोकाईतो स्पानोल होटल एण्ड रेष्टुरेन्टले २ करोड रूपैयाँ बराबरकाे लगानी प्रतिवद्धता आएको छ ।

यस्तैगरी, ललितपुरको रेमनाण्डले ५ करोड, ग्लोवल ट्राभल एण्ड एड्भेन्चरले १ करोड, संखुवासभाको खांदवारीको अल्मोस्ट होम प्राइभेटले २ करोड, काठमाडौंको टाइङ युन होटलले ४ करोड, काठमाडौंकै इयुट्टेम कोरियन रेष्टुरेन्टले २ करोड, काठमाडौंकै गुड टेष्ट क्याफेको ४ करोड, वाई लि होटल एण्ड रेष्टुरेन्टले १० करोड, डाँङ्गफाइङ प्यालेस चाइना लान्झाव लामियन नुडल्स हेझाउ प्लेवर लिनछिया क्विसाइनले ४ करोड, कास्कीको वाइगफु हट पट चाइनिज रेष्टुरेन्टले २ करोड, होटल बोधी भिलेजले २ करोड र काठमाडौंकै सु लियन होटलले ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेका हुन् ।

घट्यो प्रतिवद्धता रकम

उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको २ महिनाको तुलनामा चालू आर्थिक वर्षमा लगानी प्रतिवद्धता घटेको छ ।

आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा ६८ वटा उद्योगका लागि ७४ अर्ब ६५ करोड २६ लाख ४९ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अबधिमा प्रतिवद्धता रकमसँगै संख्यामा समेत कमी आएको हो ।

कोरोना पछि होटलमा लगानी थपिने त्रम बढ्दो

होेटल व्यवसायीहरु कोरोना महामारीपछि होटलमा लगानी गर्नेहरु बढ्न थालेको बताउँछन् ।

होटल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव एवंम प्रवक्ता साजन शाक्य होटलमा लगानी थपिने क्रम बढ्दो रहेको बताउँछन् ।

‘कोरोना महामारीपछि नेपालमा धेरै होटलहरु थपिने थालेका छन्, जनयुद्धको समयमा धेरै धेरै होटलहरु बन्द भए, त्यसपछि पनि करिब १० वर्षको अवधिमा नयाँ होटलहरु थपिएनन’, उनले भने, ‘अब विस्तारै पर्यटकहरुसँगै होटलको संख्या पनि बढ्दै गएको हो ।’
सरकारले भिजिन नेपाल २०२० घोषणा गरेपछि होटलमा लगानी गर्नेहरु थपिन थालेको उनको भनाइ छ ।

‘होटल व्यवसायमा एक पटक लगानी गरेपछि पुग्छ, वान टाइन इनभेष्टमेन्ट भएपछि होटल चले भैहाल्यो, नचले पनि लगानी खेर जाँदैन बढ्छ भनेर नै धेरैले सुरक्षित लगानीका रुपमा होटलमा लगानी गर्ने गरेको पाइएको छ’, उनले भने, ‘होटलको प्रपटीको मूल्य १० वर्षमा झन्डै तीन गुणा हुँने भन्दै पछिल्लो समय धेरै व्यवसायी तथा व्यवसायीक घरानाहरुको आकर्षक होटलमा देखिएको हो ।’

उनले कनेक्टीभिटीकै कारण धेरै देशका विदेशीहरु आउन नसकेको भन्दै कनेक्टीभिटी बढ्न थालेपछि पर्यटकको संख्यामा समेत बढ्ने अनुमान व्यवसायीहरुले गर्ने गरेको उनले बताए । उनका अनुसार होटल व्यवसायीहरुले अबको ५ वर्षमा ३५ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आउने अनुमान गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.