सन्तानहरुलाई कुरिरहेको सुवासको शव

  २०८० भदौ २६ गते १४:४८     सन्तोष रोकाया

काठमाडौं । व्यक्तिलाई कहिले अपत्यारिलो खबरले रुवाउँछ, कहिले अप्रत्यासित मृत्युले रुवाउँछ त कहिले देशको दर्दनाक तस्वीरले भावविभोर बनाउँछ । त्यो भावविभोरता र त्यो अप्रत्यासित रुवाइको घटना नेपाल र नेपालीका लागि मंगलबार पनि घट्यो । नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको मृत्युले देश शोकमा डुब्यो ।

एक शालिन र कुशल राजनीतिज्ञ, आफ्नै पार्टीका सहकर्मीसँगै अन्य राजनीतिक दलका प्रतिस्पर्धी नेताहरुसँग पनि सुमधुर सम्बन्ध कायम गर्नमा खप्पिस उनको निधनले देशलाई ठूलो क्षति पुर्याएको छ । उनको सोही क्षमताको यतिखेर सिंगो देशले जयजयकार गर्दैछ । उनी अहिले सञ्चार माध्यमको हेडलाइन बनिरहेका छन् । विपक्षी दल तथा असन्तुष्ट पक्षलाई पनि सहमति र समझदारीमा ल्याउने वातावरण निर्माण गर्न सक्ने खुवी भएका उनको निधनले नेकपा एमालेसँगै देशलाई पनि ठूलो नोक्सानी भएको छ ।

उनको मृत्युको दुःखद खबरसँगै अर्को एउटा समाचारले तपाईं/हामीलाई भावविभोर बनाएको छ । उसो त त्यो भावविभोरता तपाईं/हामीले दिनहुँ महसुस गर्नु परेको छ, देख्नु परेको छ र सुन्नु परेको छ । दैनिक हजारौं युवाहरुले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँसु चुहाउँदै यो देश छोड्नु परेको छ ।

एकछिन कल्पना गर्नुस् त ! तपाईं/हाम्रो छोराछोरी, भाई/बुहारी, भतिज/भतिजी वा श्रीमान/श्रीमतीलाई बिदाइ गर्दाका ती पलहरु कति हृदयविदारक बनिदिन्छन् । अझ काँधभरी खादामालाहरु भिडाएर बिदाइका हातहरु हल्लाएको त्यो तपाईंको मान्छे एउटा बाकसमा मृत शरिर बनेर फर्कियो भने आफुलाई सम्हाल्न सक्नु हुन्छ ? अर्थात्, तपाईंले अँगालो मारेर बिदाइ गरेको त्यो प्रिय मान्छे तपाईंको मृत्युमा उपस्थित हुन सकेन भने तपाईंले स्वास छोडेर यो संसार छोड्दै गर्दा कस्तो गाह्रो र असह्य हुन्छ होला ।

देशको सभामुख भइसकेको व्यक्ति । संविधानसभा अध्यक्ष भएर देशको प्रमुख राजनीतिक दल नेकपा एमालेको उपाध्यक्ष जस्तो मान्छेको मृत्युमा उनका उत्तराधिकारी अर्थात् दुइटै छोराहरु उनको अन्तिम स्वासमा उपस्थित छैनन् । बुबाको मृत्यु भएको दुई दिनपछि उनका छोराहरु विदेशबाट स्वदेश आइपुग्दैछन् ।

कस्तो विडम्वना ! कसैलाई छोरा नभएर दुःख । कसैलाई छोरा बढी भएर दुःख त कसैलाई छोरा विदेश भएर दुःख । दुःख सबैका आ-आफ्नै किसिमका ।

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार दिउँसो चार बजे नेपाल आइपुग्दैछन् । उनी सपरिवार बेलायत बस्दै आएका छन् । उनका कान्छा छोरा सुहाङ नेम्वाङ आज राति ११ बजे फर्किने बुझिएको छ । देशको ठूलो राजनीतिज्ञको छोराहरु विदेश भएको कारण उनको मृत्युमा उनका छोराहरु उपस्थित हुन सकेनन् । उनीहरु बुबाको अन्तिम स्वासमा सारथी बन्न सकेनन् ।

हामी स्वदेशमै रोजगारीको कुरा गर्छौं । त्यो कुरा सबैभन्दा बढी गर्ने राजनीतिक नेतृत्वले नै हो । तर, एकछिन सरसर्ती हेरौं त, यो देशका शिर्ष नेताहरुका छोराछोरीहरु कहाँ छन् ? के गर्दैछन् ? के राजनीतिक नेतृत्वहरुले भनेजस्तै उनीहरुका छोराछोरी पनि स्वदेशमै रोजगारी गरिरहेका छन् ? स्वदेशमै पढिरहेका छन् ? वा स्वदेशमै उद्यमी बनेका छन् ?

यो सामग्री तयार गर्दै गर्दा पंक्तिकारले पनि देशका शिर्ष नेताहरुका छोराछोरी कहाँ छन् ? स्वदेशमै कार्यरत छन् वा विदेशमै छन् ? भन्ने विषय सरसर्ती केलाए । तर, अधिकांश शिर्ष नेताका छोराछोरीहरु विदेशमा भेटिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबिर देउवा विदेश–स्वदेश गर्दै आइरहेका छन् । उनी नेपालमा भन्दा बढी विदेशमा बस्छन् । उनले बेलायतबाट नै राजनीतिकशास्त्रमा विद्यावारिधी गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल पनि बेलायतमै बस्ने गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका छोरा सौरभ नेपाल पनि अष्ट्रेलियामा रहेको बुझिएको छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ भनेर गफ दिने पूर्व अर्थमन्त्री जनार्दन शर्माका छोरा प्रकाश शर्मा र छोरी कविता शर्मा पनि अमेरिकामै बस्छन् । पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी श्रृखला खतिवडा पनि विदेशमै छिन् । उनले केही समयअघि अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । उर्जामन्त्री शक्ति बस्नेतको छोरी पनि अमेरिकामै रहेको बुझिएको छ ।

यी केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले मन्त्रिमण्डलमा भएका अधिकांश मन्त्रीहरुका छोराछोरीहरु विदेशमा छन् । उनीहरु विदेशमै पढेर उतै सेटल भइसकेका छन् । नेताहरु देश बनाउँछौैं, स्वदेशमै राजगारी सिर्जना गर्छौं भनेर दिनप्रतिदिन गफको ग्राफ बढाउँदैछन् । उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरुको ग्राफ बढ्दो छ । त्यो ग्राफमा तिनै देश बनाउँछु भनेर लागेका नेताहरुका छोराछोरी पनि समाहित छन् ।

आफ्ना छोराछोरीलाई विदेश पठाएर म देश बनाउँछु भनेर देश बन्छ ? आफ्ना सन्तानलाई विदेशी महँगा विश्वविद्यालयहरुमा पढाएर यता गरिबका छोराहरुलाई निःशुल्क शिक्षा प्रदान गर्छौं भन्दै गफ लगाएर हुन्छ ? आफु र आफ्ना छोराछोरीहरुलाई विदेशी सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गराएर देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्छौं भनेर गफ दिन मिल्छ ?

नेताज्यूहरु ख्याल गर्नुस्, तपाईंको मरणमा पनि तुलसी जल पिलाउनेहरुको कमि हुन सक्छ । प्राण प्यारा तपाईंका छोराहरु तपाईंको अगाडि नहुन सक्छन् । त्यतिखेर तपाईंलाई डलरभन्दा तुलसी पानीको प्यासले छटपटाउन बाध्य पार्न सक्छ । त्यतिखेर तपाईंलाई डलरको गड्डीभन्दा प्रिय पुत्रको प्यास बढी लाग्न सक्छ ।

अहिले देश दुखेको छ । तपाईंहरुको मन दुखेको छैन । पछि तपाईंको मन दुख्न सक्छ । तर, त्यतिबेला तपाईंहरुसँग न गर्न सक्ने पद रहन्छ , न प्रतिष्ठा हुन सक्छ नत गर्न सक्ने हैसियत नै । समुन्द्र पारी रहेको छोरालाई भिडिओ कल गर्दै घर फर्किने विलौनासहितको विकल्प तपाईंसँग हुने छैन । परिणाम निस्कन्छ, सुवास नेम्वाङ । जसले आफ्नो छोराको हातबाट दागबत्ती पाउन दुई दिन कुर्नु पर्ने । आदारणिय नेता सुवास नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.