२०८० भदौ २६ गते १०:५३ विकासन्युज
नुवाकोट । सरकारले टोखा-छहरे सुरुङमार्ग राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने तयारी गरेको छ । मंगलबार उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को स्थलगत अवलोकन एवं निरीक्षणमा गएका तीन जना मन्त्रीले सरकारले प्राथमिकतामा राखेर निर्माण अगाडी बढाउने बताएका हुन् ।
सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।
प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलले स्थलगत अवलोकनका क्रममा सो कुरा बताएका हुन् । अर्थमन्त्री डा महतले सरकारले छिट्टै इआइए सकेर निर्माण सुरु गर्ने बताए । अहिले हामीले इआइएको स्थलगत अवलोकन गरेका छौँ, यसको प्रतिवेदन सार्वजनिक भएसँगै सुरुङमार्ग निर्माणको काम सुरु गछौँ, सम्भवत चालू आर्थिक वर्षभित्र आयोजना निर्माणको सुरुवात गरिसक्छौँ’, उनले भने ।
उनले सरकारले चालू आर्थिक वर्षका लागि एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेकोे भन्दै निर्माणको काम सुरु हुने दाबी गरे । सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेण्डा नै सुरुङमार्ग भएको उनको भनाई छ । चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा उपयुक्त हुने देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
सुरुङमार्ग निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए । स्थलगत अवलोकनपश्चात उनले आयोजना निर्माणबाट वनजङ्गल तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने प्रतिवद्धता व्यक्त गरे ।
सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ ।
चीन भ्रमणको मुख्य प्राथमिकता टोखा छहरे सुरुङमार्ग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा-छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने तयारी गरेका छन् । निर्माण क्षेत्रका अन्य योजनामध्ये उक्त सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी सरकारको छ ।
असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको सयमा उक्त सुरुङमार्ग निर्माणको सम्झौता भएकको थियो । चिनियाँ राष्ट्रपतिले नै टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति गरेका थिए ।
उक्त सहमति अनुसार चीन सरकारले नै डीपीआर बनाउन लाग्ने खर्च व्यर्हाेर्दै आएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भने नेपाल सरकारले गर्ने सहमति भएको थियो ।
१५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा-छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो । चिनियाँ राजदूतले नेपालको पूर्वाधार निर्माणमा चीन सरकारले ८० अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्ति गरेका थिए ।
५० अर्ब खर्च अनुमान, एक अर्ब विनियोजन
सरकारले उक्त सुरुङमार्ग निर्माणका लागि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । उक्त रकम खर्च हुने अनुमान गरेपनि सरकारले चालू आवका लागि सवा १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ ।
अर्थमन्त्री डा महतले स्रोत अभावका कारण कम रकम विनियोजन गरिएको भन्दै आवश्यकता अनुसार रकम थप गर्दै जाने बताए । उनले नेपालले मात्र निर्माण गर्न नसक्ने भन्दै चीन सरकारसँग निर्माणका लागि सहयोग माग गर्ने बताए ।
‘अहिलेको प्रयासले पुग्दैन, प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैहुनुहुन्छ, हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं। त्यो भयो भने यसले पूर्णता पाउँछ’, उनले भने- ‘यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’
भौतिक पूर्वाधारमन्त्री ज्वालाले आर्थिक स्रोतका लागि चीन सरकारसँग सहयोगको आश गरिएको बताए ।
‘यो सुरुङमार्ग निर्माणका लागि अहिलेको मुख्य चुनौती लगानीको हो, आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा-छहरे’ सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ’, उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.