एमजीले सार्वजनिक गर्यो दुई मोडलका ईभी गाडी, कुनको मूल्य कति ?

  २०८० भदौ २४ गते १५:१०     विकासन्युज

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट ईभी र एमजी ४ ईभी गाडी सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै एमजीका दुई मोडलका गाडी सार्वजनिक गरेको हो ।

कम्पनीका म्यानेजर सचिन अर्यालले स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेट सुहाउँदाे गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडलका ईभी गाडी उपयुक्त हुने बताए । ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं, नेपाली सडकमा सुहाउँदो यस गाडी सबैको माझ लोकप्रिय बन्ने अपेक्षा लिएका छौं,’ उनले भने ।

एमजी कमेट ईभी भारतमा बनेको आकर्षक मूल्यमा उपलब्ध हुने विद्युतीय गाडी हो । जसको सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ भने यसमा १७.३ किलोवाटको ब्याट्री र ३१.२६ किलोवाटको मोटर जडान भएको छ ।

एमजी कमेट ईभीमा यात्रुहरूको सुरक्षाको लागि आईपी रेटेड ब्याट्री, डुबल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ ।

कम्पनीका अनुसार सो गाडीमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरू छन् । कम्पनीले जसको मूल्य १७ लाख ९९ हजार निर्धारण गरेको छ । उक्त गाडी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छन् ।

त्यस्तै, एमजीले कमेट ईभीको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा एक लाख किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ ।

कम्पनीका अनुसार एमजी ४ ईभीले २०२३ को युके कार अफ द इयरमा यस गाडीकाे सेफ्टीले ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी दुई भेरीयन्टमा उपलब्ध सो गाडीको ब्याट्री क्षमता ५१ किलोवाट घण्टा र ९९ किलोवाटको मोटर रहेको छ । त्यस्तै, एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ किलोवाट घण्टा र १५० किलोवाटको मोटर जडान गरिएको छ ।

एमजी ४ ईभीले सिङल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ । गाडीमा राम्रो ह्यान्डिलङ र ट्र्याक्सनको लागि एमजी ४ ईभीमा रियर व्हिल लेआउट राखिएको छ ।

अर्यालले यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू पनि गाडीमा समावेश भएको जानकारी दिए । उनका अनुसार मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरू पनि गाडीमा उपलब्ध छन् ।

त्यस्तै, एमजी ४ ईभीको लागि हाइ भोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ ।

कम्पनीका अनुसार एमजी ४ कम्फर्ट ईभीको मूल्य ४१ लाख ४९ हजार रहेको छ भने एमजी लक्जरी ईभीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपालभर कम्पनीका  एसी र डीसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसन छन् । कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा ५० वटा चार्जिङ स्टेशन पुर्याउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.