सेयर बजार घट्नुमा प्रिमियम मूल्यको दोष, अदालत जाने लगानीकर्ताको चेतावनी

  २०८० भदौ २४ गते १२:२८     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय विभिन्न ८ कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरे । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे ।

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीको सेयर पनि पूर्ण रुपमा बिक्री भइसकेको छ भने केही कम्पनीको निष्काशन प्रक्रिया जारी छ । तर, पछिल्लो सयम एकपछि अर्काे कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा भने लगानीकर्तामा निराशा छाएको छ । १ सय रुपैयाँमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई एकैपटक प्रिमियम थप गर्नु पर्दा लगानीका लागि स्रोत पनि अभाव हुन थालेको लगानीकर्ताहरु बताउँछन् ।

लगानीकर्ता असन्तुष्ट र निराश मात्रै होइन, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि विवादमा मुछिएको छ । यतिसम्म की नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत सेबोनले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको आरोप लागेकाे छ ।

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सर्वसाधारणहरु मारमा परेको लगानीकर्ता माधव खनाल बताँछन् । एकपछि अर्काे कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिँदा लगानीको स्रोत खुम्चिएको उनको भनाइ छ । उनका अनुसार प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न अदालत जाने तयारी भइरहेको छ ।

‘धितोपत्र बोर्डले आर्थिक चलखेल गरेर प्रिमियम व्यवस्था लागू गर्याे, प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा पूँजी बजारलाई फाइदा भन्दा नोक्सान बढी गर्छ, अधिकांश लगानीकर्ताहरुको पैसा प्रिमियममा फसेको छ, बजारलाई तल झार्न टेवा पुर्याइरहेको छ, यो गलत काम हो, अब यसलाई रोक्नु पर्छ,’ उनले भने, ‘सेबोनसँग प्रिमियममा आईपीओ बिक्री प्रक्रिया रोक्न छलफल भइरहेको छ, यदि सेबोनले यो प्रक्रिया रोकेन भने अदालतमा मुद्दा हालेर भएपनि रोक्छौं ।’

खनालका अनुसार कुनै पनि व्यवसायमा १ सय रुपैयाँमा लगानी गरिएको छ भने ५ वर्षमा ५ सय प्रतिशत वृद्धि हुन सक्दैन । त्यसैले २/३ वर्ष कम्पनी चलाएर प्रिमियममा आईपीओ निष्काशन गर्ने परिपाटी बन्द गर्नु पर्ने उनको धारणा छ । प्रिमियममा आईपीओ बिक्री गर्ने कम्पनीका संस्थापकहरुले कानुनी रुपमा पूँजी बजारबाट सर्वसाधारणको रकम लुटेको उनको आरोप छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया जबरजस्ति लादिएको उनको बुझाइ छ ।

‘काम गर्दा जोखिम र आम्दानी दुइटै हुन्छ तर, प्रिमियममा आईपीओ जारी गर्दा कम्पनीका संस्थापकलाई फाइदा मात्रै भयो, जोखिम शून्य भयो, कानुनी रुपमा निष्काशन गर्न पायो भन्दैमा सबै लगानीकर्तालाई मारमा पारेर बजारबाट पैसा उठाउन पाउँदैन,’ उनले भने, ‘प्रिमियम मूल्यमा आईपीओ जबरजस्ति लादिएको हो, भित्रभित्रै चलखेल गरिरहेका छन्, सर्वसाधारणलाई भिडाइरहेका छन्, जबरजस्ति लादिए पछि आवेदन दिनै पर्ने बाध्यता बन्यो ।’

‘लगानीकर्ताहरुले घरजग्गा बिक्री गरेर लगानी गरिरहेका हुन्छन्, कुनै कम्पनीको सेयरमा जबरजस्ति प्रिमियम लादिएपछि बाध्यताले भर्नै पर्ने स्थिती छ, अरु विकल्प नभएपछि के गर्नु ?’ लगानीकर्ता खनाल बताउँछन् ।

लगानीकर्ता छोटेलाल रौनियार पूँजी बजारमा मागभन्दा सप्लाई मात्रै थप्ने काम भइरहेको बताउँछन् । समय परिस्थिती अफ्ठ्यारो रहेकाले धितोपत्र बोर्डले प्रिमियममा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्ने उनको भनाइ छ ।

‘पूँजी बजारमा मागभन्दा बढी सप्लाई भइरहेको छ, बजार निरन्तर घटिरहेको छ, लगानीकर्ताको मनोबल कमजोर बनेको छ, कारोबार रकम पुनः एक अर्बमा सीमित भइसक्यो,’ उनले भने, ‘यी सबै विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्छ, लगानीकर्ताले पनि चाहना देखाएका छैनन् ।’

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सेबोनले कम्पनीको रेटिङ्गलाई थप अध्ययन गर्नु पर्ने उनको भनाइ छ । एक सय रुपैयाँमै आईपीओ आउनु पर्छ भन्ने आफ्नो माग नभएपनि लगानीकर्ताको भावना हेरेर प्रिमियम मूल्यमा आईपीओ ल्याउनु पर्ने उनको भनाइ छ ।

‘जुनसुकै कम्पनीको रेटिङमा शंका छ, लगानीकर्ताहरुले औंला उठाएका छन्, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको घोराही सिमेन्टको रेटिङ कै विषयमा बोर्ड पनि विवादित बन्यो, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा खिचडी भइरहेको छ,’ उनले भने, ‘एक सय रुपैयाँमै सेयर आउनु पर्छ धारणा होइन, ३२ सय अंकमा पुगेको बजार २ हजार अंकभन्दा तल झर्दा लगानीकर्ता आत्तिएका छन्, लगानीकर्ताहरुले यो अवधिमा १४/१५ खर्ब गुमाइसके, त्यसकारण लगानीकर्ताको मुख्य विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आउने आईपीओ स्थगित गर्दा राम्रो हुन्छ ।’

लगानीकर्ता कुमार पौडेल प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा प्रमोटरहरुलाई मात्रै लाभ भइरहेको बताउँछन् । उनले सेबोनले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई पनि प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको आरोप लगाए । लगानीकर्ताहरुले आवेदन भरिरहेका छन् भन्दैमा नियामक निकाय चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

‘लगानीकर्ताहरुलाई १ सय रुपैयाँमा आईपीओ आउँदा फाइदा हुन्छ, प्रिमियममा आईपीओ निष्काशन गर्दा प्रमोटरको भ्यालू दिएको हो तर, अहिले प्रिमियममा आइरहेका आईपीओमा शंका लाग्छ,’ उनले भने, ‘नेटवर्थ राम्रो नभएका कम्पनी पनि प्रिमियममा आईपीओ निष्काशन गरिरहेका छन्, नियामकले यसमा अध्ययन गर्नु पर्छ ।

पूँजी बजार चरम वियरिसमा गुज्रिरहेको र लगानीकर्ताको लगानी पेनिक भइरहेको अवस्थामा बोर्डले धमाधम प्रिमियमा आईपीओ जारी गर्न दिनु गलत काम भएको लगानीकर्ता राजु पौडेल बताउँछन् । रेटिङमा गलत गरेको प्रमाणित भएपनि आईपीओ निष्काशन गर्न दिनु धितोपत्र बोर्डको कमजोरी रहेको उनको भनाइ छ ।

‘बजारमा सप्लाई मात्रै दिने तर, ‘डिमाण्ड’ सिर्जना गर्ने विधि धितोपत्र बोर्डले गरेको छैन, विवादित घोराही सिमेन्ट, रिपब्लिका मिडियालाई आईपीओ जारी गर्न दिँदा शंका गर्ने ठाउँ देखिन्छ, रेटिङमा विवाद प्रमाणित छताछुल्ल भएपनि लेनदेनमा बिकेका हुन की भन्ने शंका उब्जिन्छ,’ उनले भने, ‘रिपब्लिका मिडिया डुब्न लागेको कम्पनी हो, जसको भौतिक पत्रिका बिक्री हुन छाडेको छ, यसले बजारमा लगानीकर्ताको सेन्टिमेन्ट पुरै गिराएको छ ।’

राष्ट्र बैंक, सरकार लगायत सबै निकाय सेयर बजारप्रति नकरात्मक बनेका बेला सेबोन पनि पूँजी बजारप्रति गलत क्रियाकलाप गरिरहेको उनको भनाइ छ । प्रिमियममा आईपीओ निष्काशन गर्दा पूँजी बजार घटाउन मद्दत पुगेको उनले बताए ।

‘प्रिमियममा आईपीओ निष्काशन गरेर प्रमोटरहरुले बजारबाट पैसा खिचेर लगेका छन्, जसको असर दोस्रो बजारमा प्रत्यक्ष परेको देखिन्छ,’ उनले भने, ‘कमजोर हाइड्रोपावरलाई पनि प्रिमियमा निष्काशन गर्न दिँदा लगानीकर्ताको मनोबलमा झनै गिरावट आएको छ ।’

एनसेल, डाबर नेपाल, सूर्य टोबाको, वाइवाई लगायत फण्डामेन्टलमा राम्रा कम्पनीलाई प्रिमियममा आईपीओ बिक्री गर्न अनुमति दिनु स्वभाविक रहेको उनको भनाइ छ । तर, समय उचित हुनु पर्ने उनले बताए ।

‘प्रिमियममा आईपीओ बिक्री गर्दा समय हेर्नु पर्छ, बजार बुलिस, लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक, नगद कारोबार बढेको बेला बजारलाई असर गर्दैन तर, पैसामा बिके जस्तो गरेर कमजोर कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिँदा आशंका गर्ने ठाउँ उब्जिएको छ,’ उनले भने ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा लगानीकर्ता मारमा परेको गुनासो आफूले नसुनेको बताउँछन् । प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा महँगो लागे आवेदन नदिँदा हुने उनको सुझाव छ ।

‘प्रिमियम मूल्य महँगो लागे आवेदन नभरे हुन्छ, प्रिमियममा आईपीओ आएको छ भने किन्नै पर्ने बाध्यता छैन,’ उनले भने, ‘प्रिमियम मूल्य कसरी गणना गर्ने र रेटिङ कति हुनु पर्ने सबै नीति नियम अनुसार नै भइरहेका छन्, यस विषयमा केही सुधार गर्नु छ भने बोर्ड सधैं तयार छ ।’

उनका अनुसार कम्पनीको रेटिङलाई बोर्डले क्रस चेक गरेर स्वीकृत दिने गरेको छ । साथै, प्रिमियम मूल्यआ आईपीओ निष्काशनको अनुमति माग्न बोर्डमा कुनै पनि कम्पनी नआएको उनले बताए । प्रियियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न लगानीकर्ता अदालत जान सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.