इटालियन ब्राण्ड ‘एनर्जीका ईजीओ’ नेपाली बजारमा, ५८ लाख पर्ने के–के छन् विशेषता ?

  २०८० भदौ २० गते १८:४४     विकासन्युज

काठमाडौं । एन्ड्युरो मोटर्स कम्पनीले इटालियन ब्राण्डको ‘एनर्जीका ईजीओ’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

एनर्जीका मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एन्ड्युरो मोटर्सले केही समयअघि इटालियन ब्राण्डको बाइक नेपाल ल्याएको हो ।

प्रतिघण्टा २४० किलोमिटरको स्पिडमा कुद्न सक्ने यो बाइक तीन भन्दा बढी रङमा उपलब्ध रहेको कम्पनीको मार्केटिङ प्रबन्धक सास्वत रिजालले बताए ।

बाइकको इन्जिन डीसी भोल्टेज ३०० क्षमताको छ भने बाइकमा लिथियम पोलिमर ब्याट्रीको जडान गरिएको छ । कम्पनीका अनुसार ब्याट्री अधिकतम क्षमता २१.५ किलोवाट र न्यूनतम क्षमता १८.९ किलोवाट छ ।

कम्पनीले ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी दिएको र ब्याट्री ४० मिनेटमा फूल चार्ज भइसक्ने रिजालले बताए ।

‘ईभी बाइकको मोटो इ–रेसिङ विश्वकै एउटा ठूलो इभेन्ट हो, त्यसमा सन् २०२२ सम्म कम्पनीले एनर्जीका ईजीओ बाइक उपलब्ध गराइरहेको छ’, रिजालले भने ।

ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै ल्याइएको यो बाइक नेपालमा लोकप्रिय हुने विश्वास लिएको कम्पनीले बताएको छ ।

रिजालका अनुसार यो मोटर साइकलमा विश्वका उत्कृष्ट सामाग्रीहरु प्रयोग भएका छन् । एनर्जीका ईजीओ मोटरसाइलको नेपाली बजारमा ५८ लाख रुपैयाँ मूल्य तोकिएको छ ।

‘यो आफैमा महँगो ब्राण्ड हो, जसले सुविधायुक्त र गुणस्तरीय मोटरसाइकल किन्ने सोच्नु भएको छ, उनीहरुको लागि उपयुक्त छ’, रिजालले भने ।

उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याएसँगै गुणस्तरीय र सुविधायुक्त मोटरसाइकल चाहनेको लागि बुकिङ खुल्ला भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.