कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [फाेटाे फिचर]

  २०८० भदौ २० गते १५:०६     विकासन्युज

काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.