
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् ।
बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
निजी क्षेत्रले पनि चार्जिङ स्टेशनमा लगानी गर्ने वातावरण बनाउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको घिसिङले बताए ।
निजी क्षेत्र चार्जिङ स्टेशन बनाउन आएमा प्राधिकरणले साइटमा ट्रान्सफरमरदेखि विद्युत सप्लाईसम्मको लागी लगानी गरिरहेको उनले बताए । जग्गा र चार्जिङ स्टेशनमा लगानी गरे अरू सेवा सुविधा प्राधिकरणले उपलब्ध गराउने उनले बताए ।
पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनले बताए ।
चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने अवस्था बनेको उनले बताए ।
विद्युतीय सवारी सञ्चालन गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने घिसिङले बताए । डिजेल पेट्रोलमा ६ हजार लगानी लाग्ने ठाउँमा विद्युतीय सवारीमा ४ सय रुपैयाँले पुग्ने अवस्था भएको उनले बताए ।
विद्युतीय सवारी साधनको प्रयोग बढ्दा पेट्रोलियम पदार्थको आयात कम हुने, व्यापार घाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने घिसिङले बताए ।
आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको घिसिङको भनाई छ । प्राधिकरणले अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन बिस्तारको काम गरिरहेको उनले जानकारी दिए ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए ।
विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको सिटौलाको भनाई छ ।