भारत विरुद्धको खेलमा छक्का र विकेट लिने खेलाडीलाई नगद दिने घोषणा

  २०८० भदौ १८ गते १४:१२     विकासन्युज

काठमाडौं । सोमबार दिउँसोबाट सुरु हुन लागेको एसिया कप–२०२३ मा भारत विरुद्ध छक्का वा चौका हान्ने खेलाडीलाई विभिन्न कम्पनीहरुले नगदै दिने घोषणा गरेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकादेखि चलचित्र निर्देशकसम्मले सोमबार दिउँसो हुने उक्त खेलमा हुने छक्का हान्ने तथा विकेट लिने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकले शतक हान्ने र चार विकेट लिने खेलाडीलाई जनही एक/एक लाख दिने निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गर्ने गरेको थियो ।

यस्तै, यती ब्रुअरीको उत्पादन अर्ना बियरले पनि उक्त खेलमा छक्का हान्ने खेलाडीलाई नगद दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

यस्तैगरी, चलचित्र निर्देशक चन्द्र पन्तले पनि छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने घाषणा गरेका छन् ।

उनले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजय भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त उक्त संस्थाको अध्यक्ष हुन् ।

एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.