विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ, बैंक खातामा साढे २४ हजार डलर देखाउनु पर्ने

  २०८० भदौ १४ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाली विद्यार्थीका लागि उच्च शिक्षा पढ्ने शैक्षिक गन्तब्यमध्ये अग्रस्थानमा आउँछ अष्ट्रेलिया । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया जान यसअघि केही सहज भएपनि अब भने कडाइ हुने भएको छ । अब विद्यार्थीहरुलाई भिसा पाउन कठिनसँगै पैसा पनि बढी बचत गर्नु पर्ने देखिएको छ ।

पढाइसँगै अवसर र कमाइको पनि आकर्षणको गन्तब्यको रुपमा लिइएको अष्ट्रेलिया सरकारले विद्यार्थी भिसामा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभावमा नेपाली विद्यार्थी पर्ने भएका छन् ।

अष्ट्रेलियन सरकारले नयाँ नियमहरु ल्याएर स्टुडेन्ड भिसामा कडाइ गरेको हो । यसअघि एक वर्षका लागि बचत राख्नुपर्ने रकमको सीमा बढाएको छ । विद्यार्थीहरुले विदेश जानुअघि बैंक खातामा एक वर्षसम्म खान बस्न र पढ्नका लागि बैंकमा पैसा देखाउनु पर्ने हुन्छ । अब विद्यार्थीहरुले एक वर्षका लागि २४ हजार ५०५ डलर बचत गर्नु पर्ने नियम बनाएकाे छ । जुन पहिलेको तुलनामा १७ प्रतिशत बढी हो । पहिले २१ हजार डलर मात्रै  खातामा देखाउनु पर्ने व्यवस्था थियो ।

आजको विनिमयदर अनुसार अब विद्यार्थीले खातामा १३ लाख ६८ हजार बढी रकम खातामा देखाउनु पर्छ । अब विद्यार्थीले वित्तीय कागजात बनाउँदा यसलाई नै आधार बनाएर काम गर्नु पर्ने हुन्छ ।

यस्तै, विद्यार्थीलाई कागजातमा पनि कडाइ गरिएको छ । के कस्तो कागजात माग गर्ने भन्ने विषय भने खुलाएको छैन । ५० प्रतिशतभन्दा कम भिसा लाग्ने अष्ट्रेलियन कलेजहरुलाई त्यहाँको सरकारले सस्पेन्सन सर्टिफिकेट दिने नियम पनि ल्याएको छ । त्यो भनेको त्यस्ता कलेजहरुले नयाँ विद्यार्थीहरुको भर्ना लिन पाउने छैनन् । यो व्यवस्थाले पनि नेपाली विद्यार्थीलाई भिसा आवेदनमा गाह्रो पर्नेछ ।

यो नियम भने अक्टोबरबाट लागू हुनेछ ।  अहिले करिब ८० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पछिल्लो समय त्यो संख्या झन बढ्ने अवस्थामा छ । हरेक नेपाली विद्यार्थीको रोजाइ विदेश बनिरहेको छ ।

पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शिक्षा हो । शिक्षाबाट त्यहाँको सरकारले धेरै राजश्व संकलन गर्छ । चीन र भारतपछि नेपालका विद्यार्थी बढी अष्ट्रेलियामा जान्छन् । कोरोनापछि केही सहज गरेको अष्ट्रेलियाको सरकारले अहिले भने कडाइको बाटो अँगालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.