काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बिक्री आम्दानी घटेपछि अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.८६ प्रतिशत घटेको हो ।
गत आर्थिक वर्षको असारसम्म कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
गत असारसम्म कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ, अन्य आम्दानी ४५.३४ प्रतिशत घटेर २९ करोठ ९२ लाख रुपैयाँ र कुल आम्दानी १.११ प्रतिशत बढेर ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष १.८६ प्रतिशत घटेर ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर ४३.३६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ ।