काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशन गरी विभिन्न ४७ वटा कम्पनीलाई साउनभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो ।
प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले दूरसंचार सेवा संचालन गरे वापत दूरसंचार ऐन, २०५३ बमोजिम कूल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ ।
सेवाप्रदायक ४७ कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित २०७९ पुससम्म दाखिला गर्न पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला नगरेको प्राधिकरणले जनाएको छ ।
नियमानुसार सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम साउन मसान्त भित्र सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा दाखिला गरी सक्कल भौचर संलग्न गरी पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
यदि सो समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारवाही अगाडी बढाइने प्राधिकरणको चेतावनी दिएको छ ।