२०८० साउन १९ गते १९:०७ विकासन्युज
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गरेका हुन् । मल्ल नेपाली राष्ट्रिय क्रिकेटका टोलीका भरपर्दा ब्याट्सम्यान थिए ।
एशिया कपको तयारीका लागि श्रीलंकामा हाइ पर्फमेन्स प्रशिक्षण गरेर नेपाली टोली फर्किएको भोलिपल्ट नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट सन्यास घोषणा गरेका हुन् ।
क्रिकेट करियरबाटै सन्यासको घोषणा गर्दा उनी केहीबेर भावुक भएका थिए । कप्तान र उपकप्तानको भूमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको मल्लले बताए ।
डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए । घरेलु क्लव यङ्गालबाट क्रिकेट खेल्न शुरु गरेका मल्ले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका थिए ।
सन् २००६ को यु–१९ विश्वकप खेलेका उनले सिनियर टोलीबाट ट्वान्टी–२० विश्वकपसम्म यात्रा तय गरे । सन् २००८ को यु–१९ विश्वकपमा नेपाली युवा टोलीको उपकप्तान रहेका मल्ल सिनियर टोलीबाट पनि लामो समय सोही जिम्मेवारीमा रहे ।
तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए । खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान)सँग विवाद भएपछि क्यानले मल्ललाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटाएको थियो ।
त्यसपछि मल्ल सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आएका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.