बतास एमएडब्लुका आइसर भेहिकललाई ग्राहकले रुचाइएको ब्राण्डको रुपमा स्थापित गर्छु : सीईओ अग्रवाल

  २०८० असार २६ गते १०:४१     विकासन्युज

काठमाडौं । अटोमोबाइल तथा कर्पोरेट क्षेत्रमा कुशल नेतृत्वकर्ताको रूपमा चिनिन्छन् दीपक अग्रवाल । शिक्षण पेसा अङ्गालेका अग्रवालले बैंकिङ हुँदै अटोमोबाइल क्षेत्रमा आइपुगेका हुन् । अटोमोबाइल क्षेत्रमा उनले आफू संलग्न भएको कम्पनीलाई सफलतामा पुर्‍याएका छन् । व्यवसायिक क्षेत्रको सफल नेतृत्वकर्ताको रूपमा स्थापित अग्रवाल असार १० गतेदेखि बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारीमा छन् । बतास एमएडब्लु कमर्सियल भेहिकल नेपालमा भारतको भोल्भाे आइसर कमर्सियल भेहिकल लिमिटेडको आधिकारिक विक्रेता हो । कम्पनीमा नेतृत्वको जिम्मेवारी लिएदेखि नै बतास एमएडब्लुलाई थप उचाइमा पुर्‍याउने योजनाका साथ काम गरिरहेको उनले बताएका छन् । उनी अग्रवालसँग विकासन्युजको लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित सार-

तपाईं बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त भएपछि यो कम्पनीलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?

बतास अर्गनाइजेसनले ह्यान्डल गरिरहेको बतास एमएडब्लु कमर्सियल भेहिकलले नेपालमा आइसर ब्राण्डका सवारी बिक्री गर्दै आएको छ । बतास एमएडब्लु कमर्सियल भेहिकल बैशाख एक गतेबाट विधिवतरूपमा सञ्चालनमा ल्याएका छौं । त्यसलाई लिड गर्ने हिसाबले यस कम्पनीसँग जोडिएको छु । बतास एमएडब्लु कमर्सियल भेहिकल इन्डष्ट्रीमा लिडिङ ब्राण्डकोरूपमा स्थापित भइसकेको छ । यस सहकार्यलाई आगामी दिनमा थप मजबुद बनाउँदै ग्राहकको रोजाइको ब्राण्ड बनाउने छौं ।

आइसरको नारा नै ‘संवृद्धिको सहयात्री’ भन्ने छ । हामी हाम्रो मात्र संवृद्धि नभई ग्राहक, मेकानिकल, रिसेलर्सलगायत सबैको संवृद्धि चाहान्छौं । त्यसभित्र ट्रक तथा टिपर चालकदेखि यातायात व्यवसायी आदि सबै समेटिन्छन् । उनीहरूलाई नाफामूलक बनाउनेदेखि कसरी हाम्रो सेवाबाट सन्तुष्ट बनाई दिगो लाभदायक व्यवसायरूपमा स्थापित गर्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

हामीले हाम्रो नेटवर्क देशभर विस्तार गर्ने लक्ष्य लिएका छौं । हरेक ५० किलोमिटरको दुरीमा सर्भिस सेन्टर बनाउने योजना बनाएका छौं । ग्राहकलाई नजिक गएर सेवा दिन सकोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं ।

नेपालको अर्थतन्त्रमा देखिएको संकुचनले कमर्सियल भेहिकलको बजारलाई कस्तो असर पारेको छ ?

हामी पनि अर्थतन्त्रमा देखिएको समस्याबाट अछुतो छैनौं । अन्य बिजनेसमा जस्तै हाम्रो बिजनेसमा पनि यसको असर छ । तर, आउँदा दिनमा सुधार भएर सकारात्मक संकेतकहरू देखिने छन् । देशमा पूर्वाधार विकासका काम भइरहेका छन्, रेमिट्यान्स बढ्दै गइरहेको छ । हाम्रो स्रोत पनि बढेको अनुभूति गरेका छौं । ठूलो मात्रामा विद्युत निर्यात गर्ने तयारी भइरहेको छ । यस्ता धेरै प्यारामिटरले गर्दा अर्थतन्त्रमा सुधारका संकेतहरु आउन थालेको छ ।

आगामी दिनमा कमर्सियल भेहिकलको बिजनेस फस्टाउने देखिन्छ । किनभने हामी देश विकासको चरणमा छौं । देशभित्र संरचना बनाउने, पूर्वाधारका काम गर्ने, खानी उत्खनन गर्ने लगायतका काममा कमर्सियल भेहिकलको नै बढी महत्व हुन्छ ।

कमर्सियल भेहिकल खरिद गर्न चाहनेका लागि तपाईंको कम्पनीले के सुविधा दिएको छ ?

कमर्सियल भेहिकल चाहनेहरूका लागि हामी वान स्टप सोलुसनकोरूपमा छौं । हामीसँग फुल रेन्ज छ । सानोदेखि हाई टनेजसम्मका सामान ढुवानी गर्न सक्ने सवारी साधन हामीसँग छ । स्कुल बस, स्टाफ बसदेखि ‘इन्टर सिटी ट्राभल’ गर्ने बस पनि छ । ग्राहकलाई फाइनान्स चाहिएको छ भने त्यो पनि उपलब्ध गराउन सक्ने सामथ्र्यमा छौं । निर्माण उद्योगलाई कुनै उपकरणहरू चाहिन्छ भने त्यो पनि हामीसँग उपलब्ध छ । नेपालको जुनसुकै ठाउँमा हाम्रो नेटवर्कमार्फत ती उपकणहरू उपलब्ध गारउँछौं ।

तपाईले जिम्मेवारी सम्हाल्दा बतासलाई कमर्सियल भेहिकलको क्षेत्रमा नम्बर वान बनाउने भन्नुभएको थियो । अर्थतन्त्रको अहिलेको अवस्था हेर्दा आफ्नै प्रतिबद्धता कत्तिको चुनौतिपूर्ण लागेको छ ?

चुनौतीहरू आउनु स्वाभाविक हो । बजेट निकासमा सुस्तता, बजेट खर्चमा चुनौती तथा समयमा पूर्वाधार विकास नहुनु जस्ता कारणले पनि यो क्षेत्रमा चुनौती देखिएको हो । नेपाल राष्ट्र बैंकले साना ठूला सवारीलाई फाइनास गर्दा लोन र इक्वीटीको नीति लिएको छ । त्यसले अटो व्यवसायलाई गाह्रो बनाएको छ ।

इएमआई तथा पोस्ट पेमेन्टका कुराहरूमा पनि चेकको नीति छ । त्यसलाई अझ स्ट्रोङ गर्नुपर्छ भन्ने मलाई लाग्छ । सरकारले बजेट निकासामा ध्यान दिएर विकासका गतिविधि अघि बढाउने हो भने कमर्सियल भेहिकलको बिजनेसमा खासै चुनौति देखेको छैन् ।

कमर्सियल भेहिकलमा विद्युतीय सवारी साधन ल्याउने प्रयास तपाईंहरुले गर्नुभएको छ कि छैन ?

हामी कमर्सियल भेहिकलमा आइसरका इभी ल्याउन तयार छौं । भारतमा आइसरका इभी कमर्सियल भेहिकलको परीक्षण भएको छ । केही ठाउँमा आइसरका इभी बसहरू सञ्चालनमा पनि आएका छन् । भोलिका दिनमा ईभी कमर्सियल भेहिकलमा कस्तो नीति आउँने हो त्यो थाहा छैन । ईभीका ठूला सवारीको मूल्य महँगो हुन्छ । तर, सञ्चालन खर्च भने कम छ । आगामी दिनमा यसको माग बढ्दै गयो भने इभीमा ठूला सवारी ल्याउन पनि हामी तयार छौं ।

नेपाली सडकमा पछिल्लो समय ईभी सवारीको चाप बढ्दै गएको देखिन्छ । ईभीको उदयसँगै पेट्रोल तथा डिजेलबाट चल्ने सवारी विस्थापित हुँदै गएको भन्ने चर्चा पनि हुने गरेको छ । इन्धनबाट चल्ने सवारी विस्थापित हुने क्रममा गएका हुन् ?

अहिले विश्वका धेरै देशहरू ईभीको प्रयोगमा कसरत गरिरहेका छन् । नेपालका सम्पुर्ण सवारीलाई विद्युतीकरण गर्ने हो भने ६० मेगावाट मात्र विद्युत खपत हुन्छ । इन्धनका सवारीले मात्र नभई वातावरणमा अरू कुराहरूले पनि असर पुर्याइरहेको हुन्छ । आजको दिनमा जति पनि पैसा इन्धनमा खर्च भएको छ, त्यो भन्दा बढी सवारीलाई विद्युतीकरणमा पैसा बाहिर जान्छ । मैले चाहिँ कमर्सियल भेहिकलमा ईभीले तत्काल ठूलो फाइदा दिन्छ भन्ने देखेको छैन ।

कमर्सियल भेहिकलको नेपाली बजारमा तपाईंहरुको हिस्सा कति छ ?

नेपाली सडकमा आइसरका ट्रक तथा बस धेरै गुड्छन् । नेपाली बजारमा हाम्रो हिस्सा २०/२१ प्रतिशत छ ।

कमर्सियल भेहिकलको बिक्री व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाहरुले कत्तिको सहजिकरण गरिरहेका छन् ?

नेपालमा भूकम्प गएपछि सरकारले धेरै ठूलो बजेट निकासा गरेको थियो । त्यो बेला निर्माणको कामहरू पनि बढेकाले कमर्सियल भेहिकलको माग पनि बढेको थियो । त्यो र आजको समयलाई तुलना गर्न मिल्दैन । आज हाइड्रोपावरको डिमान्ड छ । नयाँ नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएका छन् । नयाँ धेरै सडक पनि बनेका छन् । त्यो हिसाबले आज यसको निश्चित माग छ । समयअनुसारको डिमान्ड तथा सप्लाईको कुरा चलिरहन्छ । देशमा विकासका धेरै काम हुन बाँकी छ । आर्थिक मन्दी भएको कारणले पनि माग घटेको छ । यसलाई मैले सकारात्मक नै लिएको छु । आउने दिनमा कमर्सियल भेहिकलको बिक्री बढ्ने नै छ ।

हामीसँग इन–हाउस नै फाइनान्स कम्पनी छ । बैंकले गाडीको फाइनान्स गर्न नचाहेको हैन । बैंकले पनि ग्राहकको फिल्टर, उसको आम्दानीको स्रोतलाई विश्लेषण गर्ने भएकोले वित्तीय व्यवस्थापनमा समय लाग्ने हुन्छ । अटोमा लगानी गर्न बैंक पछि परेका छैनन् ।

आइसरका बस तथा ट्रक खरिद गर्न चाहनु हुने ग्राहकलाई के भन्नुहुन्छ ?

हामीसँग नेपालभर करीब ११ वटा डिलर छन् । बतास एमएडब्लुको १० ठाउँमा आफ्नै नेटवर्क छ । हामी करिव १०० वटा रिटेलर्समार्फत काम गरिरहेका छौं । विश्वका ४० भन्दा बढी देशमा आइसर ब्राण्डका गाडी निर्यात भइरहेको छ । नेपालमा आइसरका २५ हजारभन्दा बढी गाडी गुडीरहेका छन् । कर्मसियन भेहिकल सेक्टरमा आइसर ब्राण्ड स्थापित छ । यसको प्रयोग गर्न चाहने सबैलाई हामी सहजताका साथ सवारी साधन उपलब्ध गराउन तत्पर छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.