२० लाखको लगानीमा हेटौंडामा खुल्यो दुई उद्योग, स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने

  २०८० असार २३ गते १३:०९     विकासन्युज

बाग्मती । हेटौंडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले २० लाख रुपैयाँको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ ।
वडा नं ५ मा ‘हेटौंडा गार्मेन्ट समूह उद्योग’ र वडा नं १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिए । स्थानीयलाई स्वरोजगार बनाउँदै सीप र क्षमताको विकास गर्ने उद्देश्यले दुई फरक स्थानमा उद्योग स्थापना गरी सञ्चालनको तयारी गरिएको उनले बताए । उद्योग सञ्चालन भएसँगै स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
पहिलो चरणमा उपमहानगरले लगानीमा ‘आधारभूत सिलाइकटाइ तालिम’ प्रदान गरी रोजगारीका अवसर सृजना गर्ने वातावरण तयार गरिएको उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । अहिले प्रथम चरणमा आधारभूत सिलाइकटाइको तालिमपछि हेटौंडा-५ मा १० जनालाई र हेटौंडा-१८ मा २१ जनालाई रोजगारीका अवसर दिने उनको भनाइ थियो । उक्त गार्मेन्ट सञ्चालनमा आएपछि प्रत्येक वर्ष १० जनाका दरले रोजगारीमा वृद्धि गर्दै जाने योजना रहेको उनले जानकारी दिए ।
त्यस्तै, हेटौंडामा तीन करोड रुपैयाँको लागतमा कृषि तथा तरकारी फलफूल बजार सञ्चालन आएको छ । वडा नं ४ मा त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सञ्चालनमा आएको उक्त तरकारी बजारको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरे ।
उक्त तरकारी तथा फलफूल बजारमा ९० तरकारीका स्टल, ३० गेडागुडी तथा खाद्यान्नका स्टल, २० फलफूलका स्टल, पाँच मासुका स्टल र पाँच खाजाका लागि स्टल राखिएको मार्टका अध्यक्ष अभ्यास भुजेलले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.