भारतीय चलचित्र प्रदर्शनमा निषेध

  २०८० असार ४ गते ७:१९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन रोक लगाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ, उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ, उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

शाहले काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.