२०८० जेठ २६ गते १७:०८ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।
शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।
‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन, जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो, त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो’, उनले भने, ‘विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको हुँ ।’
उनले नेपालले ४० वर्षअघि खाद्यान्न निर्यात गरेको भन्दै अहिलेसम्म किन गरिब भयौँ भनेर प्रश्न समेत गरेका थिए ।
प्रधानमन्त्रीले भने, ‘यसपटक विगतभन्दा फरक ढंगले काम गरिरहेको छु, विगतभन्दा फरक, तत्परताका साथ काम गरिरहेको छु, सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ, हामीकहाँ भएको फोहोरको थुप्रै सफा गर्नुछ ,नक्कली भुटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नुछ, हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ ।’
Copyright © 2023 Bikash Media Pvt. Ltd.