प्रभु र महालक्ष्मी लाइफको मर्जरले पायो अन्तिम रुप, एकीकृत कारोबार असारभित्रै

  २०८० जेठ २६ गते १६:३५     विकासन्युज

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई एक आपसमा मर्जरमा जान बाटो खुलेको छ । जेठ २६ गते सम्पन्न दुबै इन्स्योरेन्सको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्तावलाई पारित गरेसँगै दुबै कम्पनीलाई बाटो खुलेको हो ।

सभाले पारित गरेसँगै दुई कम्पनी एक बराबर एकको सेयर अनुपात अर्थात स्वाप रेसियोमा मर्ज हुने भएका छन् । मर्जरपछि प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् ।

यससँगै दुबै कम्पनीले आगामी असारभित्र एकीकृत कारोबार गर्ने योजना बनाएका छन् ।

हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब १९ करोड (बोनसपछि) रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।

शुक्रबार नै सम्पन्न प्रभु लाइफ इन्स्योरेन्सको सभाले ९.८० प्रतिशत सेयर लाभांस र ०.५१ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, दुबै कम्पनीको सभाले वार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

तेश्रो त्रैमासको रिपोर्ट अनुसार प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ ।

प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ ।

समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.