इप्पानका सदस्य ४५० पुगे, ‘क्लिनस्विप’को रणनीतिमा कार्कीको टीम

  २०८० जेठ २६ गते १६:१०     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ । ३ वर्ष अघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ ।

इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रतक्ष्यरुपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतादान गर्ने अधिकार भने हुँदैन ।

पछिल्लो समय जलविद्युत क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ ।

अध्यक्षमा कार्कीको पल्ला भारी

अध्यक्षका उम्मेदवार कार्कीलाई पूर्व अध्यक्षहरु, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् ।

कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् ।

महासचिवमा बलराम खतिवडा र उप–महासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दैछन् । यस्तै, ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांस प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । अध्यक्षका उम्मेदवार गणेश कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

अध्यक्ष बाहेकका अधिकांश पदमा सहमति हुने सम्भावना धेरै रहेको उप–महासचिवका प्रत्यासी प्रकाश दुलालले बताए । सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ । जेठ २५ गतेसम्म नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए ।

२७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इप्पानको २१ औं वार्षिक यहि जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.